शिक्षक श्रेष्ठका हत्यारा अझै पक्राउ परेनन्, त्रासका कारण बसाइँ सर्न थाले आफन्त

प्रहरी भन्छ हत्यारालाई छिट्टै पक्राउ गर्छौं

विराटनगर। मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गर्ने समूहको खोजीमा प्रहरी टोली परिचालन भए पनि हत्याराको पहिचान गर्न सकेको छैन।

नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको चारसात बिते पनि प्रहरीले मिक्लाजुङ–१ का शिक्षक श्रेष्ठको हत्यारा फेला पर्न नसकेको हो।

शिक्षक श्रेष्ठको हत्यापछि घटना भएको क्षेत्र धनकुटा, इलाम, पाँचथर र मोरङ जिल्लाको सिमानामा पर्ने भएकाले ती चारै जिल्लाका प्रहरीले दुई सातसम्म ‘अपरेसन’ चलाएको थियो। घटनामा संलग्नलाई नियन्त्रणमा लिने प्रहरीले दाबी गरे पनि अहिलेसम्म कुनै सुराक फेला पार्न नसकेको हो।

अस्थायी प्रहरी बिट स्थापना

नेत्रविक्रम चन्द विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठलाई आफ्नो घरबाट अपहरण गरी स्थानीय जंगलमा लगरे मंसिर २३ गते बिहान घाँटी रेटेर हत्या गरेका थिए। हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको पूर्वोत्तर विकट क्षेत्र मिक्लाजुङका बासिन्दा त्रासमा छन्।

स्थानीयको मनोबल बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिएको भएपनि अवस्था सामान्य बनिसकेको छैन। मिक्लाजुङ १ को केन्द्र आइतबारेमा घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिएको छ।

स्थानीयका अनुसार घटना भएपछि आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएपनि क्याप भएको स्थानबाट घटना भएको गाउँ करिब डेढ घण्टाको पैदलमा मात्र पुग्न सकिन्छ स्थानीय एवं हत्या गरिएका शिक्षक राजेन्द्रका आफन्त मलन श्रेष्ठले शिक्षक राजेन्द्रको हत्या भएको यतिका दिनसम्म पनि हत्याराको नजिक प्रहरी पुग्न नसक्नु आफन्तमा पीडा थपिएको बताए।

त्रासमा स्थानीय, बसाइँ सर्न थाले आफन्त

‘प्रहरीले हत्यामा संलग्न समूहको खोजी तीव्र बनाएको दाबी गरेको छ’ मदनले भने, ‘तर परिणाम हात पर्न सकेको छैन।’ यस्तो अवस्थामा स्थानीयमा असुरक्षित महशुस भएकाले थप डर त्रास बढाएको छ।’ हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको पूर्वोत्तर विकट क्षेत्र मिक्लाजुङका बासिन्दा त्रासमा छन्। स्थानीयको मनोबल बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिएको भएपनि अवस्था सामान्य बनिसकेको छैन।

उनले असुरक्षाका कारण हत्या गरिएका शिक्षक राजेन्द्रको श्रीमती धनकुमारी घर छाडेर मिक्लाजुङ २ स्थित रतनझोडमा बसाइँ सरेकी छन्। त्यसैगरी, घटनापछि आफन्त धनकुमारको परिवार पनि सो ठाउँबाट बसाइँ सरेका छन्। कुल १२ घर परिवार रहेको सो स्थानमा असुरक्षका कारण धेरै घरपरिवार अहिले अनेत्र बसाई सर्ने तयारीमा रहेकापनि मदनले जानकारी दिए।

प्रहरी भन्छ हत्यारालाई छिट्टै पक्राउ गर्छौं

यता, मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का शिक्षक हत्यामा संलग्न समूहको खोजी तीव्र भइरहेकाले परिणाममुखी नतिजाको पर्खाइमा प्रहरी रहेको बताए। उनले प्रहरीले हत्याराको पहिचान गरिसकेको भएकाले चाँडै सबैकुरा बाहिर आउने पनि जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काले प्रहरीले आक्रामक अपरेशन चलाएका कारण विप्लव समूह अहिले सो स्थानमा कमजोर बनेको पनि बताए। आफ्नो शक्ति देखाउनको लागि विप्लव समूहले शिक्षक श्रेष्ठ हत्यामा उत्रिएको सुरक्षा निकायको बुझाइ छ।

विप्लव माओवादीले अपहरणपछि जंगलमा घाँटी रेटेर हत्या गरेका शिक्षक श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको थियो। हत्याको कारण ‘सुराकी’ आरोप लगाएको थियो। तर, मानव अधिकार संघ संस्थाले घटनाको स्थलगत अध्ययन गरी घटना चन्दा नदिएको निहुँमा भएको निष्कर्ष निकालेको थियो।

मोरङ मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या भए पनि आधा दर्जन बढी मानव अधिकारको क्षेत्रका कार्यरत संस्थाहरुले संयुक्तरूपमा घटनाको स्थलगत अध्ययन गरेको थियो। टोलीले घटना स्थल र प्रत्यक्षदर्शीसँगको भेटपछि शिक्षक राजेन्द्र श्रेष्ठको हत्याबारे स्थलगत अध्ययनपछि ती संस्थाले आफनो प्रतिवेदनमा चन्दा नदिएको कारण हत्या गरिएको उल्लेख गरेका छन्।

विप्लवले शिक्षक श्रेष्ठको हत्याको कारण ‘सुराकी’ आरोप लगाए पनि १० हजार चन्दा नदिएको निहुँमा उनको हत्या भएको मानवअधिकार क्षेत्रमा कार्यरत संघ संस्थाको बुझाइ छ।

नकापधारी विप्लव माओवादीले शिक्षक श्रेष्ठलाई घरबाट पटुवाको डोरीले हात बाँधेर लगेका थिए। देउढुँगा जंगलमा पुर्‍याएर उनीहरुले शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको थिए। मृतक राजेन्द्रको टाउकोको पछाडिको भागमा ढुंगाले हानेको गहिरो चोट रहेको र शरीरका विभिन्न भागमा नीलडाम देखिएको थियो।

घटनास्थल नजिकै बेतको दुईवटा लठ्ठी भेटिएको तथा मृतक श्रेष्ठको घाँटीको अगाडिको भागमा काटिएको गहिरो चोट भएकाले उनको निर्मम यातनापछि वीभत्स हत्या गरिएको थियो।

प्रतिक्रया दिनुहोस्