राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउनेको खोजी गर्दै प्रहरी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित नारासहित गालीगलौज गर्ने व्यक्तिको प्रहरीले खोजी शुरु गरेको छ ।

गृहमन्त्री राम बहादुर थापा (बादल)को निर्देशन पछि प्रहरीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी शुरु गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले गत मंगलबार गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा प्रधानमन्त्री ओलीसहित उनको सचिवालयले पनि चासो देखाएको थियो ।

यसैबीच केही महिला नेतृहरुले गृह मन्त्रालय पुगेर कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्ने क्रममा गृहमन्त्री थापाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध अमर्यादित नारा लगाउनेलाई कारबाही गरिने बताएका थिए ।

गृहमन्त्रीले ज्ञापन पत्र बुझे पछि दिएको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिइसकेको छ ।

 

प्रतिक्रया दिनुहोस्