एनआरएनमा चर्लो विवाद,विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्रमा निवेदन

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी ) का चारजना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरीत नेतृत्वले विशेष अधिवेशन आह्वान गरेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।

संघका आईसीसी सदस्यहरु चिन्तामणि  सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा  (अष्ट्रेलिया), विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक  रोशन थापाले संयुक्त रुपमा नेपाल सरकारसँग विशेष अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका हुन् ।

संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जनवरी २३ र २४ का लागि विशेष अधिवेशन तोेकेको निवेदकहरुको दावी छ । भौतिक रुपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुअलरुपमा गर्न खोजेको र त्यो विधान विपरीत हुने उनीहरुको तर्क छ ।

सन् २००३ मा स्थापना भएको संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यसका गतिविधि अनुगमन गर्दै आवश्यक निर्देशन दिने अधिकार मन्त्रालयमा रहेको छ ।

‘विशेष अधिवेशन मन्त्रालयको निर्देशन र शर्त विपरीत’ 

निवेदनमा संघको नेतृत्वले घोषणा गरेको विशेष अधिवेशन परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र शर्त विपरीतसमेत रहेको दाबी गरिएको छ ।  मन्त्रालयले तोकेको शर्तसमेत विपरीत हुने गरी विशेष अधिवेशन आह्वान गरिएकोले त्यसलाई रोक्नुपर्ने उनीहरूले माग गरेका छन् । “संघको नियमित अधिवेशन आउन अब करिव आठ महिना बाँकी छ । प्रत्येक दुई वर्षमा हुने नियमित अधिवेशन आउन थोरै समय मात्रै बाँकी रहँदा किन विशेष अधिवेशन गर्नु  पर्यो ?“ भन्ने प्रश्न पनि उनीहरुले तेर्साएका  छन् ।

संघको नवौं अधिवेशन गत २०१९ अक्टोबरको तेस्रो साता काठमाडौंमा भएको थियो ।

‘प्रतिवेदन भन्दा विधानमा ध्यान’

संघको वर्तमान नेतृत्वले प्रतिवेदन पारित गर्नु भन्दा ’हठात् रुपमा विधान संशोधन गर्ने बदनियतका साथ विशेष अधिवेशन गर्न खोजेको’ निवेदनमा उल्लेख छ ।  राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरु र आइसीसीमा समेत पारित हुन नसकेको विधानलाई भर्चुअल रुपमा विशेषअधिवेशन गरी पारित गर्ने मनसाय राखिएको उनीहरुको दावी छ ।

विशेष अधिवेशनका लागि संघको केन्द्रीय समितिले नै पारित नगरेको र संघको विधानको धारा १५ अनुसार संघको विशेष महाधिवेशनका लागि कसैले माग पनि नगरेको अवस्थामा कसका लागि विशेष अधिवेशन बोलाइएको हो ? भनी प्रश्न पनि निवेदनमा गरिएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्