कोरोनाले विश्वमा एकैदिन १३ हजार बढीको मृत्यु ,६ लाख ६७ हजार नयाँ संक्रमित थपिए(रिपोर्टसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वको जनजीवन आक्रान्त बन्दै गएको छ । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र मात्रै १३ हजार चार जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ।

हालसम्म विश्वभर आठ करोड ६८ लाख तीन हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड १५ लाख २० हजार जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ३४ लाख आठ हजार २३४ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ६८ हजार ५८४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४६१ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९७ हजार ७७७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५० हजार १५१ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २७ हजार ७५७, बेलायतमा ७६ हजार ३०५, इटलीमा ७६ हजार ३२९, फ्रान्समा ६६ हजार २८२, स्पेनमा ५१ हजार ४३०, इरानमा ५५ हजार ७४८, अर्जेन्टिनामा ४३ हजार ७८५, कोलम्बियामा ४४ हजार ४२६ तथा रसियामा ५९ हजार ५०६ जनाको मृत्यु भएको तथ्यांक छ।

यसैगरी गत २४ घण्टाभित्र विश्वमा ६ लाख ६७ हजार २३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २१ हजार ८५१ जना रहेका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै बेलायतमा ५७ हजार ४४७, इटलीमा १५ हजार ३७८, ब्राजिलमा ५७ हजार ४४७, जर्मनीमा आठ हजार ७०, रसियामा २४ हजार २४६, फ्रान्समा २० हजार ४८९, कोलम्बियामा १६ हजार ८३५ तथा इरानमा ६ हजार ११३ जना नयाँ संक्रमित थपिएका छन्।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्