देशभर पृथ्वी जयन्तीको तयारी ,जनस्तरमा राष्ट्रिय एकता दिवसको हुदैछ, सान्दर्भिकताको खोजी

काठमाडौ । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य तरिकाले मनाउने तयारी थालिएको छ ।

गणतान्त्रिक सरकारले राष्ट्र निर्माता तथा नेपाल एकीकरणका राष्ट्र नायक पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई व्यवास्ता गरेपनी नागरिक स्तरबाट भने यसलाई हर्षउल्लासका साथ मनाउने तयारी भएको हो ।

विगतका वर्षमा पृथ्वी जयन्ती तथा एकता दिवश छुट्टाछुट्टै तरिकाले मनाउने गरिएकोमा यसपटक भने राष्ट्रप्रेमि देशभक्त नागरिक सामुहिक तवरले मनाउने तयारीमा छ्न । नेपाल एकीकरण देखि राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको उच्च कदर गर्दै देशभर भव्य तरिकाले यो दिवश मनाईने भएको छ ।

जसको लागि नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्रसहित राजसस्था पुनर्स्थापनाको माग गर्दै आएका विभिन्न शक्तिहरु र समुहका साथै देशभक्त स्वाभिमानी नागरिकले घरघरमा पृथ्वी जयन्तीको तयारी थालेका छ्न ।

यसपटक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई विगतका वर्षको तुलनामा फरक तर भव्य र सभ्य बनाउन, मातृभुमी संरक्षण नेपाल ,राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दु महासङ्घ ,विभिन्न हिन्दुवादी संघ/संगठन, राष्ट्रिय सरोकार मंच नेपाल, राष्ट्रवादी एकता समाज,मातृभुमी संरक्षण अभियान नेपाल ,स्वतन्त्र नेपाली नागरिक समाज, शिव सेना नेपाल ,ठकुरी समाजलगाएतले देशभर तयारी थालेका छ्न ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णयसमेत गरिसकेको छ ।
पृथ्वी जयन्तिको अवसरमा राष्ट्रिय झण्डा जुलुस, माल्यार्पण, लगाएतका विभिन्न कार्यक्रमको तयारी थालिएको छ ।

२९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश हरेक वर्ष पौष २७ गते मनाइन्छ ।

विक्रम सम्वत् १७७९ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रका रुपमा गोर्खा जिल्लामा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कारेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, गणतन्त्र पछि सरकारले पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिदिएको छ ।

गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए ।

उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।

माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

यद्यपि, त्यसपछिका बर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ । यसवर्ष पनि देशभक्त नागरिकले स्वस्फूर्त रुपैया विबिध कार्यक्रमको आयोजना गरेका छ्न ।

पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन जनस्तरबाट माग भए पनि सरकारले भने जनताको आवाजको कदर गरेको छैन ।

पछिल्ला वर्षमा मुलुकमा विदेशी चलखेल र चासो बढेको तथा राज्य सञ्चालनमा रहेका नेता र प्रशासकहरु अमूक स्वार्थमा अल्झँदा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै आमस्तरमा चिन्ता बढेकाले पनि पृथ्वी जयन्तीको सान्दर्भिकताको खोजी भइरहेको छ ।

प्रतिक्रया दिनुहोस्