प्रचण्ड–नेपालसामु राखेको तीन प्रस्तावमा प्रचण्ड सहमत नहुँदा समस्या: राज्यमन्त्री मानन्धर

काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकल्प दिँदा दिंदै पनि प्रचण्ड–माधव नेपाल समूह सहमतिमा नआएको दाबी गरेका छन्

बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले पार्टी विवादको सहज अवतरणका लागि प्रधानमन्त्रीले प्रचण्ड–नेपालसामु तीन प्रस्ताव राखेको तर प्रचण्ड सहमत नहुँदा समस्या पैदा भएको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताकाबीचमा जाने प्रस्ताव गरेपनि प्रचण्ड सहमत नभएको मन्त्री मानन्धरको दाबी छ। प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउनेगरी काम गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेको भए पनि उहाँहरु सहमत नभएको मन्त्री मानन्धरले बताए।

अझै पनि एकता कायम हुने सम्भावना नसकिएको बताउँदै मन्त्री मानन्धरले ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन प्रचण्ड नेपाल समूहलाई आग्रह गर। मन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएको बताउँदै जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको बताए।

प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने र आगामी चुनावबाट नयाँ नेतालाई समृद्धिको अभियानको नेतृत्व दिने बताउँदा पनि केही नेताको स्वार्थले पार्टीमा विभाजन आउन लागेको मन्त्री मानन्धरको तर्क छ। अहिले भड्किएर हिँडेका नेता कुनै दिन पश्चातापसहित मूलधारमा फर्कने बताउँदै मन्त्री मानन्धरले अरुको उक्साहटमा प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठुलो अवसर गुमाएको बताउनुभयो । एकतापछि चलायमान हुनुपर्ने पार्टी संगठनहरू जाम भएर बसेको तर अहिले अध्यक्ष ओलीको सक्रियतामा चलायमान हुन थालेको बताउँदै मन्त्री मानन्धरले सरकार र पार्टी दुबै चलायमान हुने दाबी गरे।

विधिका कुरा गर्ने नेताहरु नै अवैध रुपमा नेतृत्व हत्याउन खोजेकाले समस्या पैदा भएको बताउँदै मन्त्री मानन्धरले कार्यकर्ता र जनताले आगामी दिनमा नेताहरुको मुल्यांकन गर्ने बताए।

महाभारत युद्धको अन्तिममा कृष्णलाई गान्धारीले दिएको सरापको उदाहरण दिंदै मन्त्री मानन्धरले वर्तमान अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीको कुल र मुल जोगाउने नेता केपी ओली हुने दाबी गरे।

कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डमा बहालवाला मन्त्रीको एकल कन्सर्टमा लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्ड गीत गाएर रेकर्ड बनाएका मन्त्री मानन्धरलाई सम्मान गरिएको थियो। कार्यक्रममा बालाजु यातायात र तारकेश्वर यातायातले मन्त्री मानन्धरलाई सम्मान गरेको थियो।

प्रतिक्रया दिनुहोस्