धारामै जम्यो पानी

सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ ।

आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो ।

चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिए ।

घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए । ‘‘कर्णाली नदी टाढा छ, पानी लिन जान चिसो अत्यधिक छ । घरबाहिर निस्कनसमेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ,’’ उनले भने । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए । रासस

 

 

 

प्रतिक्रया दिनुहोस्