राष्ट्रियसभा सदस्यहरू भन्छन्: प्रतिनिधिसभा नहुँदा हामीले नै सशक्त भूमिका निभाउनुपर्छ

काठमाडौं। राष्ट्रिय सभा सदस्यहरुले प्रतिनिधि सभा नभएको अवस्थामा आफूहरुको भूमिका सशक्त पार्ने बताएका छन्।

राष्ट्रिय सभाको सातौँ अधिवेशन पुस १७ गतेदेखि सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै यस राष्ट्रिय सभा अधिवेशनलाई विशेष चासोसाथ हेरिएको छ।

विधेयकहरु दुवै सदनबाट पास हुनुपर्ने भएकाले राष्ट्रिय सभाको यस अधिवेशनमा सरकारले पर्याप्त बिजनेस नदिने आशंका साथ अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्यहरु नै बताउँछन्।

यद्यपि सरकारले दिएको बिजनेसमा गम्भीरतापूर्वक छलफल गर्ने र संकटपूर्ण अवस्थालाई निकाश दिन भूमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको भनाइ छ। राष्ट्रिय सभा सदस्य शान्ति अधिकारीले नीति निर्माण गर्ने काम र संकटपूर्ण अवस्थालाई निकास दिई संकटबाट बचाउन भूमिका खेल्ने बताइन्। प्रतिनिधि सभाले पास गरिसकेका र राष्ट्रिय सभाले पास गर्न बाँकी विधेयकहरु पास गरिने उनको भनाइ छ।

राष्ट्रिय सभा सदस्य रामलखन चमारले सरकारले आवश्यक ठानेका कामको सन्दर्भमा त्यसको जिम्मेवारी राष्ट्रिय सभाले बहन गर्ने भएकाले राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको बताए। जनताको बीचमा सम्बन्धित दलको धारणा लिएर जाने, जनतालाई संगठित गर्नुका साथै जनताको सरोकारका विषय सम्बन्धित मन्त्रालयमा पुर्‍याउने भूमिका राष्ट्रिय सभा सदस्यको रहेको उनको भनाइ छ।

विधेयकको काम नहुने भएकाले अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले बताए। यद्यपि समितिमार्फत हुने कामहरु हुने उनले बताए।

सरकारलाई खबरदारी गर्ने, जनताको आवाज सरकारलाई सुनाउने र घच्घचाउने भूमिकासाथ राष्ट्रिय सभामा प्रस्तुत हुने राष्ट्रिय सभा सदस्य अगमप्रसाद वान्तवा राईले बताए।

कोभिड १९ को विषय, विभिन्न आयोगको प्रतिवेदनलगायत राष्ट्रिय सभाको बिजनेश हुनुपर्ने राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरको भनाइ छ। प्रतिनिधि सभा नभएको अवस्थामा जनताका जल्दाबल्दा सवालमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने तथा जनतालाई जनप्रतिनिधिमूलक संस्था छ भन्ने अनुभूति दिलाउन राष्ट्रिय सभा बैठकको निरन्तरता आवश्यक रहेको उनले बताए।

प्रतिनिधि सभा विघटन भएका कारण राष्ट्रिय सभाको यस अधिवेशनमा धेरै विधेयकमाथि छलफल हुने छैन। यद्यपि राष्ट्रिय सभा सदस्यहरुले भने जनजीविकाको सवालमा तथा राष्ट्रिय राजनीतिमा देखा परेका जटिलताको सवालमा राष्ट्रिय सभाले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन्।

 

प्रतिक्रया दिनुहोस्