विप्लव समूहका तीन नेता काठमाडौंबाट पक्राउ

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका डिएसपी प्रमेश विष्टले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भीमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही रहेको विष्टले बताए। विष्टका अनुसार उनीहरूलाई प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐनअन्तर्गत म्याद थप गरेर परिसरले थप अनुसन्धान गरिरहेको छ। उनीहरूको विप्लव समूहमा कुन हैसियतमा बसेर काम गर्छन् भन्ने विषयमा अहिले अनुसन्धान चलिरहेको छ विष्टले बताए।

प्रतिक्रया दिनुहोस्