
सप्तरी। कार्यक्षेत्रमा खटिरहेका अवस्थामा प्रहरीलाई घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक बिहिबार पुर्पक्षका लागि थुनामा पठाइएको छ।
सवारी अंगभंग मुद्दामा सिरहाको लहान नगरपालिका-१८ का ३४ वर्षीय डम्बरनारायण चौधरीलाई सप्तरी जिल्ला अदालतको आदेशमा राजविराज कारागारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
स ७ प २५८० नंको मोटरसाइकल चलाएका चौधरीले गत मंसिर २१ गते सवारी साधन जाँच गरिरहेका प्रहरी सहायक निरीक्षक हिमबहादुर खतिवडालाई ठक्कर दिएर घाइते बनाएका थिए । सप्तरीको सुरुङ्गा नगरपालिका-४ स्थित पूर्वपश्चिम रागमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा कार्यरत खतिवडाले सवारी साधन जाँच गरिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदै चौधरी फरार भएका थिए ।
फरार उनलाई पक्राउ गरी सवारी अंगभंग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । उनको उपचार जारी छ।