भीम रावलबारे ओलीको कटाक्ष– ‘मन्त्री बनाउँदा केपी ओली ठिक, मन्त्री नबनाएपछि पर्नु पिर’

कैलाली। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव प्रचण्ड समूहका नेता भीम रावललाई लक्षित गर्दै कडा शब्दमा आलोचना गरेका छन्।

ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड माधव नेपाल लगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको बताएका छन्।

धनगढीमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपालको भूभाग समेटेर जुन दिन हामीले नक्सा छाप्यौं, संविधान संशोधन गर्‍यौं त्यहि दिनदेखि यिनीहरुको टाउको दुख्यो। यहि प्रदेशको एउटा मान्छेको टाउको दुख्यो। नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु पद पायो भनेमात्र खुसी हुन्छन् भन्ने देखियो। लिपुलेक लिम्पियाधुराको अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ’, प्रधानमन्त्री ओलीले रावलको नाम नलिई भने, ‘उहाँलाई मात्र मन्त्री बनाउनु पर्ने?’

ओलीले भने, ‘मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो। तर पछिल्लो पटक एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ। मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्‍यो। आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला।’

प्रधानमन्त्री ओलीले चार जना मन्त्री सुदूरपश्चिमले पाउँदा पनि रावल खुसी हुन नसक्नुको कारण वन मास्न नपाउनु हो भने। वनमन्त्री अहिले सुदूरपश्चिमकै प्रेम आले बनेका छन्।

ओलीले भने, ‘वैज्ञानिक वन व्यवस्थापनका नाममा सखुवाघारी देशभरीबाट फाँडेर सिध्याउने उहाँहरुको योजनामा ब्रेक लाग्यो । त्यसकारण उहाँहरुलाई पर्नु पिर पर्‍यो। बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने।’

प्रतिक्रया दिनुहोस्