कागजपत्र फिर्ता लिन थप २ वटा ट्राफिक कार्यालयमा प्रविधिमैत्री सेवा विस्तार

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाका २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरूको अभिलेख व्यवस्थापन निम्ति महाशाखाले संचालनमा ल्याइरहेको ‘ट्राफिक भाओलेशन रेकर्ड सिस्टम सफ्टवेयर’ शुक्रबारदेखि लागू हुने गरी महानगरीय ट्राफिक प्रहरी वृत्त सिंहदरबार र महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवामा समेत विस्तार गरेको हो।

सेवाग्राहीहरूलाई कागजपत्रहरू फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरूमा समेत विस्तार गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन्‌। उनका अनुसार अब सम्बन्धित क्षेत्रको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्न सकिने हुँदा महाशाखामा गई लाइन बस्नुपर्ने झन्झट हुने छैन।

सिंहदरबार एरियाका कारबाहीको लागि खिचिएका कागजपत्रहरू सोही स्थानको ट्राफिक प्रहरी वृत्त सिंहदरबारबाट तथा जनसेवा एरियामा कारबाहीको लागि खिचिएका कागजपत्रहरू ट्राफिक प्रहरी वृत्त जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ।

यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोबाटो, दरबार मार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयाँ बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिए।

उनले भने, ‘मापसे, लेन र ट्राफिक लाइट अटेर गरेर कारबाहीमा परेका कागजपत्रहरू भने महाशाखाबाट सचेतना कक्षा पश्चात महाशाखाबाट लिन सकिने व्यवस्था गरिएको छ।’

प्रतिक्रया दिनुहोस्