कैलालीमा प्रहरीबिट नजिकै युवतीमाथि बलात्कार प्रयास

धनगढी। कैलालीको गोदावरी नगरपालिका-४, खैरानामा एक युवतीमाथि जबर्जस्ती करणी (बलात्कार) को प्रयास भएको छ।

सांकेतिक तस्बिर

सोही वडाकी करिब २५ वर्षकी युवतीमाथिमाथि अस्थायी प्रहरीबिट नजिकैको जंगलमा आज बिहान जबर्जस्ती करणीको प्रयास भएको हो। पीडित युवतीले अज्ञात व्यक्तिले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएकी छन्।

घरबाट कामको सिलसिलामा अत्तरिया बजार जाँदै गर्दा खैरानादेखि वसन्तपुर क्षेत्रमा पर्ने जंगलभित्र लगेर कालो ज्याकेट, टोपी, मास्क लगाएका एकजना अज्ञात व्यक्तिले आफूलाई जबर्जस्ती गर्न खोजेको युवतीको उजुरीमा लेखिएको छ।

उक्त समयमा ट्याक्टर आएको कारण आफू जोगिन सफल भएको युवतीले बताएकी छिन्। आफूमाथि हातपात गर्न खोज्ने युवकको खोज तलास गरी आवश्यक कारबाही गरिदिन भन्दै ती युवतीले प्रहरीलाई आग्रह गरेकी छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले ती (अज्ञात) व्यक्तिको खोजी भइरहेको बताए।

प्रतिक्रया दिनुहोस्