महुरे-फोक्सिङटार सडकखण्डको कालोपत्रेको काम अलपत्र

खोटाङ। तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको महुरे-फोक्सिङटार सडक कालोपत्रको काममा ठेकेदार कम्पनीको ढिलासुस्ती देखिएको छ।

सगरमाथा राजमार्गमा पर्ने दिक्तेल-गाईघाट सडकअन्तर्गत महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काममा निर्माण कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीको ढिलासुस्ती देखिएको हो।

यसअघि नै कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ। महुरे-फोक्सिङटार सडक खण्डअन्तरगत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० सडक खण्डको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले गरिरहेको छ।

सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लाबासी असन्तुष्ट बनेका छन्। भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ साल असार ३० गते सडक विभागसँग योजनाको सम्झौता गरेको थियो।

४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताए। प्रमुख इञ्जिनीयर खकुरेलका अनुसार देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ-फोक्सिङटार सडक खण्ड काम करीब ५९ प्रतिशत भौतिक प्रगति भएको छ।

५५ करोड ८७ लाखमा वि।सं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो। तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक खण्ड कालोपत्रको काम दशैँतिहार यता काम ठप्प छ।

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइड इञ्चार्ज परिवर्तन गरेको स्थानीय मिलन राईले बताए। “प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका छन्”, उनले भने, “ठेकेदार कम्पनीको लापरवाहीले सडक कालोपत्रमा भइरहेको ढिलासुस्तीका बारेमा जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेका छन्।”

भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीका साइड इञ्चार्ज नवीन मैनालीले महुरे-राजापानी सिम्पानी सडक खण्डमा गत कातिक २९ गतेसम्म काम गर्दा ५५ प्रतिशत भौतिक प्रगति भएकोे दाबी गरे। महुरे-फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ।

महुरे-सिम्पानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विसं २०७६ पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए। सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए।

प्रतिक्रया दिनुहोस्