बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

१०२ किलो गाजा र भरुवा बन्दुकसहित तस्कर पक्राउ

बारा। बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। बाराको निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो।

८-१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली फायर गरेको थियो। प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीसमेत गस्तीमा खटिएको थियो।

त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ। तामाङको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा पनि बरामद भएको डीएसपी मिश्रले जानकारी दिए।

तामाङविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको छ। फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रया दिनुहोस्