सबै सेवाहरु अनलाईन प्रणालीमा लाने यातायात व्यवस्था कार्यालयको तयारी

काठमाडौं। यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सबै सेवाहरुलाई अनलाईन प्रणालीमा लाने तयारी थालेको छ।

धेरै सेवाग्राहीले विचौलियाका कारण सेवा लिन सकस हुने गरेको गुनासो गरेपछि कार्यालयले अनलाइन प्रणालीमा लाने तयारी गरेको हो।

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखा प्रमुख नेत्रप्रसाद भट्टराईले अनलाइन प्रणालीमा जाने गरी अहिले तयारी गरिरहेको बताए।

‘कार्यालयको ठूलो समस्या भनेकै अहिले विचौलिया छ,’ उनले भने, ‘म आएको तीन महिना भयो। सबै सेवालाई अनलाइन प्रणालीबाट गर्ने गरी प्रकृया अघि बढाएको छु।’ भट्टराईले सबै सेवा नभए पनि दुई महिनाभित्र कर तिर्न भने अनलाइन प्रणाली प्रयोग गर्न सकिने प्रतिबद्धता ब्यक्त गरे।

‘मैले गरेर मात्रै हुँदैन। यसका लागि भौतिक पूर्वाधार मन्त्रालय हेटौंडालगायतले मन्त्रालयले स्वीकृति दिएपछि मात्रै हुन्छ,’ उनले भने, ‘यसबारे पहल गरिरहेको छु।’ उच्छृङ्खल व्यक्तिले कहिले त्यहाँकै कर्मचारीहरुलाई समेत जुक्याउने र लुट्ने गरेको उनले बताए।

‘म आफैँ पनि बाहिरबाट मास्क लगाए भित्र आउँदा नचिनेकाले केही काम छ भनेर सोध्छन,’ भट्टराईले भने, ‘त्यस्ता व्यक्तिले लोभ देखाएर पैसा लिइ भाग्ने पनि गरेका छन्।’

प्रहरीले ती व्यक्तिहरुलाई कारबाही गरे पनि अटेर गरी फेरि त्यही कार्यालयमा आउने गरेको भट्टराई बताउँछन्। ‘सेवाग्राहीलाई सजिलै सेवा सुविधा पाऊन् भनेर प्रहरी पनि परिचालन गरेका छौँ। जति कारबाही गरे पनि मान्दैनन्,’ उनले भने, ‘त्यसलै यी कार्यालयको सेवा स्वाच्छ, पारदर्शी पार्ने हो भने धेरै प्रहरी पनि परिचालन गर्नुपर्छ।’

प्रतिक्रया दिनुहोस्