ट्राफिक नियम उल्लंघन गर्ने सवारी निगरानी गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरी कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ।

उपत्यकाको व्यस्त सडकहरूमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरूमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले परिचालन गर्ने भएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटिभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए।

पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए। भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ।

यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आम चालकहरूलाई प्रमाणसहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुने अपेक्षा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रया दिनुहोस्