सडकमै संविधान बाचन गरेर संसद विघटनप्रति नेकपा सल्यानको विरोध

सल्यान। देशभरका विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली र संसद् विघटनको विरोध भइरहँदा सल्यानमा भने नेकपा प्रचण्ड–नेपाल समूहले फरक तरिकाले विरोध प्रदर्शन गरेको छ।

नेकपा सल्यानले सडकमै संविधान बाचन तथा व्याख्या गरेर संसद् विघटनको विरोध गरेको हो। संविधानका कुनै पनि धारा, उपधाराले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको उनीहरुको विरोधको आशय थियो।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले जनयुद्ध र दास्रो जनआन्दोलनबाट प्राप्त संविधानलाई कुनै एक व्यक्तिको सनकको भरमा कुल्चिन नमिल्ने बताए।

संविधानको कुनै पनि धारामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताउँदै संविधानभन्दा माथि हुने दुस्साहस नगर्न उनले ओलीलाई आग्रह गरे। उनले भने, ‘संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार छैन, यो कदम असंवैधानिक र अलोकतान्त्रिक हो।’ पार्टीमा आफूलाई असहयोग भयो, रिस उठ्यो भन्दैमा संविधानलाई धज्जी उडाउँदै प्रतिनिधिसभा विघटन गर्ने अधिकार कसैलाई नभएको उनले बताए।

प्रधानमन्त्री ओलीको कदमले संविधानको मर्म र भावनामा ठेस पुर्‍याएको अधिवक्ता सिपी ओलीले बताए। ओलीको स्वेच्छाचारी हठका कारण देशको मुल संविधान नै संकटमा परेको बताए।

प्रतिक्रया दिनुहोस्