कोरोना संक्रमितका परिवारलाई महालक्ष्मी नगरपालिकाद्वारा आर्थिक सहयोग

धनकुटा। महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित भई मृत्यु भएकी एक महिलाको परिवारलाई आर्थिक सहयोग गरेको छ।

वडा नम्बर ४ चानुवाकी कोरोना संक्रमित ४५ वर्षीया इन्द्रकुमारी विश्वकर्माको परिवारलाई सहायता स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिएको हो।

दमारस्थित चानुवा माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जु कार्कीले इन्द्रकुमारीका श्रीमान गोविन्दलाई रकम हस्तान्तरण गरेका हुन्।

रुखबाट लडेर गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएकी विश्वकर्मामा गत कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको नोबेलको आइसियुमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा कात्तिक २७ गते उनको मृत्यु भएको थियो।

यसअघि कात्तिक १९ मा बसेको नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित भई आइसियुमा उपचार गराउनुपर्ने गम्भीर अवस्थाका संक्रमितलाई २५ हजार रुपैयाँसम्म उपचार सहायता रकम प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम पहिलो पटक उपचार सहायता रकम प्रदान गरिएको नगर प्रमुख नेपालले बताए। आइसियुमा उपचार गराउनुपर्ने नगर क्षेत्रका अन्य संक्रमितलाई पनि उपचार सहायता रकम प्रदान गरिने नगर प्रमुख नेपालले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्