पुर्वराजा शाहले भने – राष्ट्रिय एकताकै लागि राजगद्दी त्यागेर इमानदारीता देखाएको थिएँ’

काठमाडौ । पृथ्वीनारायण शाहको २९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले भने, ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जिवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ।

त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशिर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो ।’ उनले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

त्यसै अनुसार शाह वंशीय परम्परा अगाडि बढेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र ‍राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएका छन् ।’

 

 

 

 

प्रतिक्रया दिनुहोस्