
दाङ । डिभोर्सपछि कानुनी रूपमा श्रीमान्-श्रीमती अलग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्। मृत्युपछि एकअर्काको काज-किरिया गर्नु पर्ने बाध्यता त झन् हुँदै हुँदैन। दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्।
अनलाइन दैनिककाअनुसार तुलसीपुर उपमहानगरपालिका-७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्वश्रीमान् विष्णु बेलवासेको मृत्युपछि हिन्दु परम्पराअनुसार १३ दिन कोरा बारेर काजकिरिया गरेकी हुन्।
डिभोर्स गरेका श्रीमानको मृत्युपछि घरमै १३ दिनसम्म किरिया बसेर दुई दिनअगाडि मात्रै शुद्ध शान्तिको काम सकेको भण्डारीले भनिन्। भण्डारीका पूर्वपति बेलवासेको गत पुस १२ गते कोहलपुरमा विषादी सेवनबाट मृत्यु भएको थियो।
‘उहाँले दिउँसो विषादी सेवन गर्नु भएको रहेछ,’ भण्डारीले भनिन्, ‘त्यो थाहा पाएपछि स्थानीयले अस्पताल पुर्याए पनि राति १२ बजे मृत्यु भएको रहेछ।’ बेलवासेको मृत्युको खबर होटेल सञ्चालकले १३ गते बिहान ६ बजेमात्रै भण्डारी दिएका थिए।
थाहा पाउनसाथ भण्डारी पहिलाका देवरसँगै बाँके पुगेकी थिइन। उनीहरू पुग्दा बेलबासेको शव पोष्टमर्टमका लागि भेरी अस्पतालमा राखिएको थियो। ‘हामी पुग्दा पोष्टमर्टम भइसकेको थियो। शव बुझेर दाङको घर नजिकैको कालोखोला घाटमा अन्त्येष्टि गर्यौं,’ उनले भनिन्।
बेलवासे केही वर्षदेखि कान्छी श्रीमतीसँग कोहलपुरको एक होटलमा बस्थे। उनीहरू दुबै जना सोही होटलमा काम गर्थे। कान्छी श्रीमती पनि गत भदौमा अर्कैसँग विवाह गरेर गइन्। त्यो कुरा आफूले शव ल्याउन गएका बेलामात्रै थाहा पाएको भण्डारीले बताइन्।
भण्डारी र बेलवासेले २०४९ सालमा विवाह गरेका थिए। बिहे भएको दुई वर्षपछि छोरी जन्मिइन्। ०६५ सालतिर उनकी छोरीको बिहे भयो। अहिले ८ वर्षको नाति पनि छ। ६६ सालतिर बेलवासेले कान्छी लिएर घर छोडे। भण्डारी घरमा एक्लै बस्न थालिन्।
यसबीचमा उनका श्रीमानले घर आएर बेलाबेला यातना समेत दिने गरेको उनले बताइन्। ‘मदिरा सेवन गरी आएर मनपरी गाली गलौज र कुटपिट गर्न थाले। घरबाट निकाल्न धाक धम्की दिए’ उनले भनिन्, ‘तीन पटक त रातिमा मलाई मार्न भनेर आए। धेरै यातना दिन थालेपछि मुक्त हुन मैले डिभोर्सको बाटो रोजेकी हुँ।’
उनले डिभोर्स रोज्नुको कारण सम्पत्ति खोजेको वा श्रीमान् त्यागेको रूपमा आफूले कहिल्यै नबुझेको बताइन्। ‘सम्पत्ति त के नै छ र हाम्रो ?, यही ऐलानी जग्गामात्रै हो,’ उनले भनिन्। श्रीमानले आफूलाई जति दुःख र यातना दिएको भए पनि मृत्युको खबर सुन्नासाथ मन सम्हाल्न नसकेको उनले बताइन्।
‘औपचारिक रूपमै डिभोर्स भएको ८ वर्ष जति भए पनि म त उहाँकै श्रीमती हुँ,’ भण्डारीले भनिन्, ‘उहाँको मृत्युको खबर सुन्नासाथ मेरो मनले मान्दै मानेन र गएर शव ल्याएर आफ्नो धर्म र परम्पराअनुसार सबै काजकिरिया गरेकी हुँ।’
उनले आफूले राजीखुसीका साथ मनैदेखि त्यो सबै गरेको बताइन्। ‘कसैको करकाप र दबाबले मैले त्यस्तो कर्म गरेकी हैन,’ उनले भनिन्, ‘मेरो उद्देश्य उहाँको यातनाबाट मुक्ति पाउनका लागि मात्रै डिभोर्स थियो। उहाँले जे-जस्तो गरे पनि उहाँ नै मेरो श्रीमान हो।’