इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ‘ब्‍ल्‍याक बक्स’ भेटियो

काठमाडौं। दुर्घटनामा परेको श्रीविजया एयरको विमानको ‘ब्‍ल्‍याक बक्स’ खसेको स्थानको पहिचान भएको छ।

शनिबार इन्डोनेसियाको राजधानी जर्काताबाट उडेको विमान शनिबार जाभा नदीमा खसेको थियो। विमानको ‘ब्‍ल्‍याक बक्स’ कुन स्थानमा रहेको छ भन्‍ने बारेमा आइतबार सूचना प्राप्त भएको खोजीकार्यमा संलग्‍न अधिकारीहरुले जानकारी दिएको रोयटर्सलाई उल्लेख गरेको छ। नदीमा मानव शरिरका अंगहरु र विमानका टुक्राहरु पनि फेला परेको बताइएको छ।

५० यात्रु र चालक दलका १२ सदस्यहरु बोकेर जकर्ताबाट उडेको बोइङ ७३७(५०० विमान चार मिनेट पछि नै राडरसँग सम्पर्कहिन भएको थियो। सो विमानको दुई वटा ‘ब्‍ल्‍याक बक्स’ रहेको स्थानका बारेमा जानकारी मिलेको इन्डोनेसियाको यातायात सुरक्षा समितीका प्रमुख सोएजान्तो जाजोनोले बताए। ‘ब्‍ल्‍याक बक्स’ खोजीमा डुंगाहरु परिचालन गरिएको जाजोनोले जानकारी दिए।

इन्डोनेसियामा ठूला यात्रुवहाक विमानहरु दुर्घटनामा पर्ने सिसिला रोकिएको छैन। सन् २०१८ मा पनि इन्डोनेसियाली विमान दुर्घटनामा परेको थियो। त्यसबखत लायन एयर पनि जाभा नदीमै खसेको थियो। लायनको बोइङ ७३७ म्याक्स एक सय ८९ यात्रु बोकेर उडेको विमान केही समयमै खसेको थियो।

दुर्घटनामा परेको श्रीविजयाको विमान उडाएका पाइलट र को-पाइलट इन्डोनेयिाको वायु सेनाका पूर्व पाइलटहरु रहेको बताइएको छ दुर्घटनामा परेको विमान २७ वर्ष पुरानो रहेको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। सन् २००३ मा स्थापना भएको श्रीविजयाका विमान यसअघि चार पटक साना दुर्घटनामा परे पनि कसैको ज्यान गएको थिएन।

प्रतिक्रया दिनुहोस्