
काठमाडौं । नेपाली सेनाको मुख्याल जङ्गीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ ।
‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ को अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा अध्ययन केन्द्रको उद्घाटन गरिएको हो ।
सोमबार जङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरे । केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण जानकारी रहेको सेनाले जानकारी दिएको छ ।कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।
पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी ‘राष्ट्रिय कविता प्रतियोगिता २०७७’ पनि आयोजना गरेको थियो । सेनाले आयोजना गरेको प्रतियोगितामा ३६९ कविता सहभागी भएका जनाएको छ ।
(तस्वीर ; नेपाली सेना )
सहभागी कवितामध्ये उत्कृष्ट १० तथा छनौट भएका थप उत्कृष्ट ३० कविहरुसहित जम्मा ४० जना कविहरुले आइतबार उपत्यका पृतना मुख्यालयको अडिटोरियम हलमा कविता वाचन गरेका थिए । आइतबार नै उत्कृष्ट ३० कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको थियो ।
त्यस्तै उत्कृष्ट १० कविहरुलाई सोमबार नेपाली सेनाको जङ्गीअड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।