केटिको बिषयलाई लिएर साथीको चक्कु प्रहारबाट एक युवकको मृत्यु

काठमाडौं। काठमाडौंमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सांकेतिक तस्बिर

महानगरीय प्रहरी परिसर, काठमाडौंले मकवानपुर थाहा नगरपालिका-६ घर भई बुढानिलकण्ठ नगरपालिका-११ रुद्रेश्वर चोक बस्ने २१ वर्षीय राजसिंह ठकुरीलाई पक्राउ गरेको छ।

परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार उनलाई सोमबार बिहान उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। गत बिहीबार उनले बुढानिलकण्ठ(१ चिसेनीको सडकमा आफ्ना साथी २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहार गरी उनी गम्भीर घाइते भएको डिएसपी बिष्टले बताए।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो। महानगरीय प्रहरी वृत्त, महाराजगन्जले उनीमाथि थप अनुसन्धान गरिरहेको छ। वृत्तका प्रमुख डिएसपी रोशन खड्काका अनुसार उनीहरू दुबै जना मिल्ने साथी हुन्। बिहीबार साँझ राजसिंह, सुशील र चार जना साथीहरू चिसेनी डाँडामा पुगेका थिए। उनीहरूसँग एक जना केटी साथी पनि गएकी थिइन्। उनीहरूले त्यहीँको एक होटलमा बसेर छ्याङ खाएका थिए।

‘उनीहरू एकदमै मिल्ने साथीहरू हुन्। यसबारे घरपरिवारलाई पनि थाहा छ। उनीहरू बसेर खानपिन गरिरहेका थिए। ख्यालख्यालमै उनीहरूबीच केटी साथीको विषयमा विवाद भयो’, डिएसपी खड्काले भने, ‘तर केहीबेरमै मिलेका पनि थिए।’

तत्काललाई सल्टिए पनि राजसिंहले यही विवादपछि आफूलाई असुरक्षित महशुस गरेका थिए। छ्याङ खाएको होटलबाटै उनी चक्कु बोकेर हिँडेका थिए। ‘बाटोमा साथीले कुटपिट गर्छ कि भनेर उनले होटलबाट चक्कु ल्याएर आएका रहेछन’, विष्टले भने, ‘बाटोमा विवाद भयो। उनले चक्कुले हाने।’ चक्कु प्रहारबाट घाइते भएका सुशीललाई साथीहरूले नै त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए।

घाइते भएका सुशील त्यतिबेलासम्म पनि चेतमै थिए। उनले आफ्ना साथीले चक्कु प्रहार गरेकोबारे भने कसैलाई बताएनन्। बरू उल्टै लडेर त्यस्तो भएको बताएको डिएसपी खड्काले बताए। ‘मृतकले पनि चक्कुले घोपेको भनेर भनेनन्। लडेर घाउ भयो भन्यो तर घाउ धारिलो हतियार प्रयोगबाट भएको देखिन्थ्यो’, उनले भने, ‘हामीलाई मृतकका परिवारले पनि उजुरी दिएका थिएनन्।’

घटना शंकास्पद भएपछि अस्पतालको इमर्जेन्सीबाट प्रहरीलाई खबर आएको थियो। प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा सुशीलको हत्या गरेको खुलेको थियो। आइतबार उनको मृत्यु भएपछि उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। उनीमाथि थप अनुसन्धान हुँदैछ।

प्रतिक्रया दिनुहोस्