निर्वाचन प्रक्रिया रोक्न आयोगलाई प्रचण्ड-माधव समूहको आग्रह

काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल आफैं आयोग पुगेर वैशाखमा हुने निर्वाचनका कामहरु रोक्न आग्रह गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन्।

तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ। प्रतिनिधिसभा विघटन नै असंवैधानिक भएको र अदालतमा मुद्दा विचाराधीन रहेकाले मतदाता नामावली संकलन, मतदानकेन्द्रहरु निर्धारण लगायका कुनै पनि काम अघि नबढाउन आग्रह गरिएको उक्त समूहले जनाएको छ।

आयोगले भने संविधान र कानुन बमोजिम काम हुने भन्दै अदालतको अन्यथा आदेश नआएसम्म आयोगको काम नरोकिने जवाफ दिएको छ। प्रचण्ड-माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन्। आफूहरुसँग पार्टीको प्रष्ट बहुमत रहेको भन्दै समूहका नेताहरुले अर्को पक्षलाई आफ्नो दाबी पेश गर्न भन्नुपर्ने बताएका थिए।

तर आयोगका पदाधिकारीहरुले भने बहुमत छ कि छैन भन्ने प्रक्रिया सुरु भएपछि मात्र भन्न सकिने बताएका छन्। अहिले दुबै पक्षले विवरण अध्यावधिक मात्र गर्न पत्र पठाएकाले आयोग वैधानिकतासम्बन्धी विवादमा प्रवेश गर्न नसक्ने बताएको छ।

प्रतिक्रया दिनुहोस्