बाँकेमा जिल्लाबाहिरका दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज। बाँकेमा उपचारका लागि दाङ र सुर्खेतबाट आएका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही-२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर-१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो।

अस्पतालका अनुसार दाङका ३९ वर्षीय पुरुषको सोमबार दिउँसो १२ः१० बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि १९ पुसमा भेरी अस्पतालको आईसीयू कक्षमा उनी भर्ना भएका थिए। पुस २१ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो।

सुर्खेतका ५५ वर्षीय पुरुषको सोमबार बिहान सात बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पुस १८ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रया दिनुहोस्