
दिपेन्द्र लामिछाने हमाल
कोहलपुर। बाँके लगायत तराईका विभिन्न जिल्लाहरुमा आज सोमबार शीतलहर चलिरहेको छ। शीतलहरका कारण दैनिक जनजिवन कष्टकर बनेको छ।
बाँकेको कोहलपुरमा ३ दिन अघिदेखि लगातार हुस्सु र कुहिरो लागिरहेको छ। हिजो आईतबारसम्म दिउँसोको १-२ बजे घाम लाग्ने गरेको भएपनि आज सोमबार भने घामको झुल्को समेत देख्न पाईएको छैन। आकाशबाट वर्षा भएजसरी शीत झरिरहेको छ।
यो समाचार तयार पार्दासम्म बाँकेको कोहलपुरको तापक्रम १८ डिग्री छ तरपनि शीतलहरका कारण सडकहरु झिजेका छन् भने चिसोका कारण दैनिक कामकाज गर्न समस्या भइरहेको स्थानियहरु बताउँछन्।
हुस्सु र कुहिरो लागेका कारण तराईका विभिन्न जिल्लाहरुमा हुने दैनिक हवाई उडानहरु समेत प्रभावित भएका छन्। विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगञ्ज लगायतका विमानस्थलहरुमा हुने दैनिक उडानहरु प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।