गण्डकी प्रदेशले गर्‍यो साढे चार अर्ब पुँजीगत खर्च गर्दा सवा अर्ब राजस्व संकलन

कास्की। गण्डकी प्रदेशले चालु आर्थिक वर्षको यो अवधिसम्म साढे चार अर्ब पुँजीगत खर्च गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय चालु आर्थिक वर्षको लागि १९ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याएको छ। यो बजेट गण्डकी प्रदेशको कुल बजेटको ५७.४ प्रतिशत हो।

गण्डकी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल ३४ अर्ब ८४ करोड २१ लाख बजेट विनियोजन गरेको छ। चालु खर्चका लागि १४ अर्ब ३४ करोड ४१.४ प्रतिशत छु्ट्याइएको हो भने वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

चालु आर्थिक वर्षको पुससम्म निरन्तर चालु खर्च भएपनि पुँजीगत खर्च भने हुने समय भर्खरै आएको प्रदेश मन्त्रालयले बताएको छ। अहिले दिन प्रतिदिन पुँजीगत खर्च बढ्दै गएको आर्थिक मामिला तथा योजना मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले बताइन्। ‘अहिलेसम्म भएको पुँजीगत खर्च राम्रो हो,’उनले भनिन् ‘करिब १३ प्रतिशत पुँजीगत खर्च भएको छ। बहुवर्षीय ठेक्काको काम धमाधम भइरहेको छ भने चालु आर्थिक वर्ष आयोजनामा पनि खर्च हुने क्रम बढ्दो छ।’

प्रदेशका मुख्य आयोजनाका रुपमा सडक, पुल, सिचाईँलाई राखेको छ। मन्त्रालयले बजेट मध्यावधि समीक्षा गर्दैछ। खर्च कसरी गराउने भन्ने भन्नेमा मन्त्रालयले लागि परेको छ। कतिपय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन आइसकेको छ भने कतिपय आयोजना आउने क्रममा छ। बजेट साइकल अनुसार खर्च भइनै रहेको छ।

कति उठायो गण्डकीले राजस्व

गण्डकी प्रदेशले चालु आर्थिक वर्षको यो अवधिसम्म सवा अर्ब राजस्व संकलन गरेको छ। यस आवको लागि प्रदेशले ५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तय गरेपनि बन्दाबन्दीका कारण केही कम राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा गण्डकीले साढे दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्ष प्रदेशस्तरीय यातायात, वन, कृषि कार्यालयहरू खुलेको र ऐन तथा कार्यविधि समेत बनिसकेकोले राजस्वको लक्ष्य तय गरिएको हो।

प्रदेशमा यी क्षेत्रपनि राजस्वका प्रमुख क्षेत्र हो’, सचिव पौडेलले भनिन् ‘यदि बन्दाबन्दीको असर नभएको भए, दहत्तर बहत्तर (ढुंगा गिट्टी बालुवा) लगायतका वस्तुको राम्रो व्यापार हुन सकेको भए लक्षित राजस्व उठाउन सकिन्थ्यो।’ अहिले उठेको राजस्व पनि राम्रै हो। अबका दिनमा आर्थिक चहलपहल बढ्न थालेकोले राजस्व संलकन गर्न कुनै कठिनाइ नहुने उनले बताइन्।

गत वर्ष सवारी साधनबाट मात्रै डेढ अर्ब राजस्व संकलन भएको थियो। लाइसेन्स बन्द थियो। पर्यटनको आवागमन ठ्याप्पै थियो। कृषि आय तथा मनोरञ्जन कर, रुट प्रमिटका कर पनि त्यति उठन सकिरहेको छैनन्।

प्रतिक्रया दिनुहोस्