झुलाघाटमा बीओपी भवन निर्माण थालियो

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को भवन निर्माण थालिएको छ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी भवन निर्माण थालिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले बताए।

उनले भने, ‘भवन निर्माणका लागि रोयल खेमादेवी जेभीसँग १ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ, ब्यारेक र कार्यालय प्रयोजन हुने गरी २ वटा निर्माण हुँदैछन्।’

गत जेठ १० गते झुलाघाटमा बीओपी स्थापना भएको थियो। सशस्त्र प्रहरी हाल भाडाको भवनमा बसिरहेको छ। कुस्मौतघाटमा पनि यस्तै स्थिति छ। पञ्चेश्वरमा भने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाकै घरमा बसिरहेको छ।

पञ्चेश्वरमा पनि सशस्त्र प्रहरीको आफ्नै भवन निर्माणको प्रक्रिया शुरु शाहले बताए। उनले भने, ‘प्राविधिकको टोलीले साइड हेरिसकेकाले केही दिनमै भवन निर्माणको काम अघि बढाइनेछ।’

सीमा सुरक्षाका लागि बैतडीको झुलाघाटसहित पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बीओपी स्थापना गरिएको छ। चौबिसै घण्टा सुरक्षा दिने र सबैखाले सीमा अपराधिक क्रियाकलाप नियन्त्रण गर्नुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको हो।

बैतडीको ६१ किलोमिटर सीमा भारतसँग जोडिएको छ।

प्रतिक्रया दिनुहोस्