पीएम क्रिकेट कपका लागि सुदूरपश्चिम टोली घोषणा

धनगढी। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको छ।

नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका हरि रेग्मीका अनुसार गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता र त्यसपश्चात सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ।

सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको हो। उपकप्तानमा खडक बहादुर बोहरा, विकेट किपरमा अर्जुन साउद, अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा,किरण ठगुन्ना,विनोद लामा,शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद र भोजराज भट्ट छनौट भएका छन्।

वीरेन्द्र नाथ, दिपेन्द्र सिंह ऐरी,विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। टिम व्यवस्थापनमा शेरसिंह खत्री र प्रशिक्षकमा वीरेन्द्र शाही रहेका छन्।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौंमा हुँदैछ। जसमा ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बाग्मती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ने जनाइएको छ।

प्रतिक्रया दिनुहोस्