प्रचण्डको ध्यान नेतृत्वमा मात्रै भएर पार्टी एकता जोगाउन कठीनः मन्त्री ढकाल

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले​ साविक सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान नेतृत्वमा मात्रै केन्द्रित भएकाले पार्टी एकता जोगाउन कठिन भएको दावी गरेका छन्‌।

मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन्। सरकारको खुट्टा तानेर पाइला सार्न नदिने, अनि दुई तिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने नेताहरूको प्रवृत्ति अहिलेको अवस्था आएको उनले दावी गरे।

आगामी वैशाख १७ र २७ गते हुनेगरी घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको उनले बताए। ुनिर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनाव हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईंहरूले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छु, उनले भने।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी थिइन्‌। मन्त्रिपरिषदबाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।

मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए। अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटका साथ लागिएको भएपनि स्थायित्व र स्थिरताको राजनीति नभएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्ति गर्न निर्वाचनमा जान लागिएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उनले बताए।

प्रतिक्रया दिनुहोस्