थारु समुदायको नयाँवर्ष माघी, यस्तो छ प्राकृतिक तथा सास्कृतिक महत्व

कोहलपुर । नेपालका आदिवासी थारु समुदायको प्रकृतिसँग अति नजिक सम्बन्ध रहेको मानिन्छ । यो समुदायका मानिसको भाषा, रहनसहन, जीवनशैली अति फरक र रोचक मानिन्छ । थारु समुदाय केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन । यो समुदायका मानिसहरु परिश्रमका पारखी पनि मानिन्छन् र वर्षभरी खेतीपाती कै काममा व्यस्त हुन्छन् ।

थारु जातिले संस्कृतिमा अति धनी भएकाले प्रत्येक महिना उनीहरु विभिन्न पर्व मनाउँछन् । कुनै महिना विशेष पर्व छैन भने पनि उनीहरु गीत तथा लोकनृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । ती मध्ये सबैभन्दा महान पर्व माघीलाई मान्दछन् । यसलाई थारु समुदायको नयाँवर्ष पनि भनिन्छ ।

माघी के हो ?

माघी थारु समुदायको प्रमुख चाड हो । नेपालीका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो ।

माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाइन्छ । थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ । यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति(माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।

माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ ।

पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि) हरु तयार गरिन्छ । र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ ।

माघ १ गते अर्थात् माघीको दिन विहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरु सँगै सामुहिक रुपमा नदीमा नुहाउन जान्छन् । र, घरमा आई आ–आफ्नो दिदीबहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ ।

त्यसपछि सबै जना सबैसँग गाउँभरी ढोगसलाम गर्छन्, आशिर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । बर्षभरीका सुख दुःख का कुराहरु साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

केही पहिलेसम्म कमैया र कम्लहरीहरु छुटाउने फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो तर अहिले यस्ता प्रथा हटिसकेका छन् । गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि जस्ता विविध कार्यहरु पनि यही दिन गरिन्छ ।

वर्षभरी त्यही अनुसार चल्नुपर्ने हुन्छ । अर्थात् भनौँ लोकतान्त्रिक प्रक्रिया अनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । यसरी माघ महिनाभरी नै रमाइलो गरी माघ मनाउने गरेको देखिन्छ थारु समुदायलाई । यो पर्वमा विभिन्न क्रियाकलाप गरेको देखिन्छ । जसले यो पर्वको आवश्यकता झनै झल्काउँछ ।

छोरी चेलीलाई उपहार दिने कार्य

माघीको दिन नुहाएर आइसकेपछि आफ्नो छोरी चेलीलाई उपहार दिने चलन छ । त्यो उपहारमा चामल, नुन, दाल आदि पाँच मुठी वा तीन मुठी निकालेर दिइन्छ । यसलाई ‘निसराउ’ भनिन्छ । यसले दिदीभाइहरुमा सम्बन्ध बढाउनका लागि भूमिका खेल्छ ।

नयाँ आर्थिक वर्ष

माघीलाई थारु समुदायको नयाँवर्ष पनि भनिन्छ । खासगरी वर्षभरी क–कसले, को सँग पैसा लिनुपर्ने वा दिनुपर्नेछ । सम्पूर्ण ऋणहरु चुक्ता गर्ने र नयाँ खातापाता सञ्चालन गर्ने कार्य यही दिनबाट सुरु हुन्छ । घरभित्र होस या गाउँसमुदायमा खेतीपाती लगायत अन्य व्यवहारहरुको पनि नवीकरण पनि यसै दिनमा गरिन्छ ।

सम्बन्ध प्रगाढ बनाउने दिन

माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रुपमा पनि मानिन्छ । सबै जना नदीबाट नुहाएर आएर गाउँभरीका बुढापाका देखि लिएर स–साना बालबालिकासम्म सबैले सबैसँग ढोग गर्ने र आशिर्वाद लिने दिने चलन छ । यसले गाउँलाई नै एकता कायम पनि गर्ने गर्दछ र आत्मियता बढाउनमा सघाउँछ ।

अगुवा चुन्ने काम

माघमा एउटा महत्वपूर्ण कार्य हुन्छ त्यो हो गाउँको अगुवा चुन्ने काम । यो काम गाउँको अगुवाको घरमा भेला भएर हुन्छ ,त्यो भेलालाई ‘ख्याल’ भनिन्छ । गाउँको अगुवालाई ठाउँ विशेष अनुसार बरघर, महटावाँ, भल्मन्सा आदि पनि भनिन्छ । यो दिनमा नयाँ अगुवा चुनिनुका साथै वर्षभरी गरिएका कामको समीक्षा गरिन्छ र नयाँ उक्त वर्षमा भएका कमीकमजोरीहरुलाई पनि नदोहो¥याउने गरी कार्य गरिने वाचा पनि गरिन्छ । नयाँ अगुवाले गाउँको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा बढी ध्यान दिने गर्छन् । गाउँलाई सुधार्नेतिर लाग्छन् ।

घरसल्लाह गर्ने दिन

माघीको दिनमा थारु समुदायका मानिसहरु नुहाएर आएर सपरिवार बसेर खानपिन गर्छन् र घरसल्लाह पनि गर्छन् । उनीहरुले घरसल्लाह घरमूली को बन्ने, घरको काम कसले गर्ने, बाहिरको काम कसले गर्ने, भाइ भाइ घर छुट्टिदा अन्नबाली बाँड्ने जस्ता कामहरु सल्लाहपूर्वक गर्ने गरिन्छ । त्यसैले यसलाई घरसल्लाह गर्ने दिनको रुपमा पनि लिइन्छ ।

थारु समुदायको अरु पर्व भन्दा यो पर्व अलि विशेष अनि महत्वपूर्ण मानिन्छ । यसको महत्वलाई विभिन्न कोणबाट चर्चा गर्न सकिन्छ ।

माघीको सामाजिक महत्व

थारु समुदायमा सामाजिक भावना अधिकतम पाइन्छ । मानिस समाज जन्मन्छ, समाजमा हुर्कन्छ र समाजमा नै बस्छ र समाजमा नै हरेक कुरा सिक्छ । त्यसैले ऊ सामाजिक प्राणी हो । सामाजिक प्राणी मात्र हुनु ठुलो कुरा भने होइन । उसको व्यवहारले समाजमा कतिको हितकारी भूमिका खेल्छ भन्ने कुराले महत्व राख्छ ।

थारु समुदाय पनि एउटा यस्तो समुदाय हो जसले समाजमा समाज विकासको विविध कार्यहरु गर्न समाजमा अन्तरघुलित भएर गर्छ । थारु समुदायका मानिसहरुको बसोबासको अवस्था हेर्ने हो भने उनीहरु एकैठाउँमा गुजुमुज्ज पारेर बनाएका हुन्छन्  र एकअर्कालाई सहयोग गर्न आतुर हुन्छन् । थारु समुदायको माघी पर्व पनि एउटा यस्तो पर्व हो जसले थारु समुदाय लगायत समग्र समाजको विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

खासगरी सामुहिक रुपमा मनाउँछन् माघी थारु समुदायले । सामुहिक रुपमा निर्णय गरेर मात्र उनीहरुले कार्यको थालनी गर्छन् । घरको एउटा घरमूली छान्नका लागि पनि छलफल गर्ने गर्छन् ।

थारु समुदायका मानिसहरुले जानी नजानी भए पनि सामुहिक रुपमा नै काम गरिरहेका हुन्छन् । जसले सामाजिक भावनाको विकास गराइरहेको हुन्छ । जसरी देश सञ्चालनमा प्रधानमन्त्री, मन्त्री लगायत अन्य संवैधानिक निकायहरु चाहिन्छन् त्यसैगरी थारु समुदाय सञ्चालन र विकास गर्नका लागि अगुवा (बडघर, महटावाँ, भल्मन्सा), चौकीदार, गुरुवा (डेशवन्ध्या) आदि चाहिन्छन् । यस्ता कार्य थारु समुदायले समुदायका मानिसहरुको छलफल र निर्णय अनुसार गराउँछन् ।

माघी पर्वमा सबै थारु समुदायका जुनसुकै गाउँमा पनि गाउँलेहरुको सहभागिता र छलफलका आधारमा निर्णय गर्ने गरेको देखिन्छ  जसले थारु समुदायका मानिसहरुमा सहयोग, सहकार्य र समन्वयको भावनामा विकास गराउँछ । अर्थात् एकल निर्णय नगर्ने हुनाले सबैको भावना, विचारहरु समेटिएको हुन्छ । यसले सामाजिक महत्वलाई झल्काउँछ ।

धार्मिक महत्व

थारु समुदायले माघीको दिन अर्थात् माघ १ गतेको दिनमा चोखो अर्थात् शुद्ध काम गर्छन् । थारु समुदायमा ‘माघीको दिन (माघ १ गते) मा रातो अर्थात् (रगत) देखाउनु हुँदैन’ भन्ने मान्यता पाइन्छ ।  त्यसैले पुस मसान्तको दिनमा सुँगुर मार्ने (जिता मर्ना काम), पकाउने काम गरिन्छ । १ गतेको दिन केवल खाने, पूजापाठ गर्ने जस्ता काम मात्र हुन्छ । यसले धार्मिक पक्षलाई जनाउँछ । नदीमा नुहाउन जाँदा सबैले पैताला मुनि पैसा दबाएर नुहाइन्छ अर्थात् जलदेवतालाई पैसा चढाएर मात्र स्नान गरिन्छ । थारु समुदाय प्रकृति पुजक भनिए पनि हिन्दु धर्मबाट बढी मात्रामा प्रभावित देखिन्छ । त्यसैले हिन्दु संस्कार अनुसार पाठपुजाका केही प्रक्रियाहरु देखिन्छन् ।

साँस्कृतिक महत्व

थारु समुदाय नेपालको अन्य समुदाय भन्दा संस्कृतिमा धनी छ । माघी पर्वमा खासगरी मघौटा, झम्रा, हुदुङ्ग्वा जस्ता रमाइला नाचहरु नाचिन्छन् । यी सबै गीत तथा नृत्यहरु सामुहिक रुपमा गरिने हुनाले समुदायबीचमा मेलमिलाप र सहयोगी भावनाको विकास गराउँछ ।

अहिले यो एक्काइसौँ शताब्दीमा आएर थारु समुदायले विस्तारै विस्तारै आफ्नो कला संस्कृतिलाई विर्सिदै जाने क्रममा माघी पर्र्वले सबैलाई एकै ठाउँमा भेला पारेर यस्तो नृत्य तथा गीतले मोहित बनाएको देखिन्छ । यो केवल थारु समुदायका लागि मात्र नभएर उक्त समुदाय इतरका लागि पनि अति रोचक छ । त्यसैले माघी पर्वले थारु समुदायलाई अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा पनि थारु समुदायलाई चिनाउन मद्दत गरेको छ । त्यसैले यसको महत्व छ ।

राजनीतिक महत्व

थारु समुदायको संरचनालाई हेर्ने हो भने यो समुदायमा सिङ्गो देशको संरचनालाई भेट्न सकिन्छ । गाउँ चलाउनका लागि गाउँमा गाउँको अगुवा (महटावाँ) देखि लिएर चौकीदार लगायत अन्य पदाधिकारीहरु पनि चुनिन्छन् र एक अर्कालाई सहयोग गरिरहेको हुन्छन् । अर्थात यो समुदायले स्थानिय गाउँघरमा परापूर्वकालदेखि नै राजनीतिक अभ्यास गरको देखिन्छ यद्यपि देशको मूल राजनीतिमा भने आफ्नो स्थान बनाउन सकेको छैन ।

थारु समुदायको महान चाड माघीले गाउँको अगुवा बडघर, घरको अगुवा घरमूली, खबरको काम गर्ने चौकीदार, स्वास्थ्य तथा गाउँको सुरक्षा गर्ने देशबन्ध्या गुरुवा, घरगुरुवा आदिको छनौट गरिन्छ । यो सदियौदेखि गाउँमा प्रचलित छ । यी नेतृत्वकर्ताहरुको समयावधी एकवर्षको हुन्छ । गाउँमा सबैले मिलेर बनाएको त्यो नेतृत्व टोली सर्वसहमतिबाट पारित हुन्छ । नेतृत्वकर्ताको रुपमा महिला, पुरुष वा गैह्रथारु समुदायको मानिस पनि हुन सक्छ । यो एउटा विश्वासमा चल्ने कुरा हो । यो थारु समुदायको एउटा सुन्दर पक्ष हो ।

माघी पर्व थारु समुदायको महान पर्व मात्र नभएर यसको बहुआयामिकता पनि छ । यसले सबैलाई एकजुट गर्ने र सामूहिकतामा बस्न सिकाउने काम पनि गर्दछ । माघी पर्व केवल खानपिन र मनोरञ्जनमा मात्र सिमीत छैन । यसले सामाजिक, राजनीतिक धार्मिक, साँस्कृतिक महत्वलाई पनि दर्साउँछ । यसले विग्रेका भत्केका सम्बन्धलाई सुधार्ने, रिसरागलाई खुशीमा परिणत गर्ने र नयाँ सम्बन्ध बलियो बनाउने काम गर्छ ।

 

प्रतिक्रया दिनुहोस्