नेपाल भारत संयुक्त आयोगको बैठक बस्दै

काठमाडौं। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज बस्दैछ।

आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको १२ सदस्यीय टोली विहीवार नै दिल्ली पुगिसकेको छ।

नेपाल र भारतबीच नक्सा विवाद भएपछि नेपालबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण पनि हो। यसअघि भारतीय विदेश सचिव,सेना प्रमुख र गुप्तचर प्रमुखले नेपाल भ्रमण गरेका थिए। मन्त्री ज्ञवालीले संयुक्त आयोगको बैठकसँगै केही उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने सम्भावना छ।

हैदरावाद हाउसमा हुने संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गर्दैछन्। नेपालले कालापानी लगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि बैठकमा उठाउने तयारी गरिरहेका बेला भारतले भने सीमा विवादको टुंगो लगाउन प्राविधिक समिति रहेको बताएको छ।

नेपाल र भारतबीच संयुक्त आयोगका मन्त्रीस्तरीय,सचिवस्तरीय र प्राविधिक कार्यदल समेत गरि अलग अलग संयन्त्र छन्। भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तबले विहीवार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा संयुक्त आयोगको वैठक र सिमा विषय फरक रहेको बताएका थिए।

प्रतिक्रया दिनुहोस्