युएईमा कार्यरत नेपाली कामदारले लगाए कोरोना विरुध्दको खोप

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई) को अबुधावी विमानस्थलमा कार्यरत नेपाली नागरिकको एउटा समूहले कोभिड–१९ विरुद्धको खोप लगाएको छ।

युएई सरकारले शनिबार उनीहरूलाई निशुल्क खोप उपलब्ध गराएको हो। खोप लगाएपछि यो समूहका सदस्यले भनेका छन्, ‘हामीले त हिजो साइनो फर्मा कम्पनीको चिनियाँ खोप लगाइयो, अन्यले पनि लगाउँदैछन।’

कतार, साउदी अरब, कुवेतमा भने नेपालीले फाइजर र मोर्डना लगाइरहेको जानकारी आएको पनि उनीहरूले बताए। यूएईमा १५ लाख भन्दा बढिले खोप लगाइसकेको उनले बताए। त्यसका केही सय नेपाली पनि परेको उनले बताए। विमानस्थलमा काम गर्ने, सुरक्षा गार्डमा काम गर्ने, स्वास्थ्य क्षेत्रमा काम गर्ने, सफाइमा काम गर्ने लगायतहरुलाई फ्रन्टलाइनरको रुपमा हेरिने हुनाले त्यही अनुरुपको प्राथमिकतामा परेका हुन्छन्।

खाडी क्षेत्रमा कार्यरत झण्डै १० लाख नेपालीले कोभिड–१९ विरुध्दको भ्याक्सिन (खोप) लगाउनेछन्। कतिपय प्राथमिकतामा परेकाहरूले लगातार खोप लगाइ रहेका छन्। दुई डोज लगाउनु पर्ने हुनाले एक पटक खोप लगाएको तीन सातामा अर्को खोप लगाउने पनि उनीहरुले जानकारी दिए। खोप लगाएकालाई ‘खोप–कार्ड’ समेत दिन थालिएको छ। उनीहरू खाडीको एक अर्को मुलुकमा जाँदा राहदानीसँगै त्यो कार्ड बोक्नुपर्ने हुन्छ। जसले गर्दा आउँजाँउमा समेत सहजता हुनेछ।

साउदी अरब, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, ओमान र कुवेतमा खोप लगाउन थालेको तीन साता पनि कटिसकेको छ। ति क्षेत्रका राजदूतहरूका अनुसार, ती मुलुकमा पहिले फ्रन्टलाइनरहरू (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उध्दारकर्मी) त्यसपछि ७० वर्षमाथिका, अनि ६८ वर्षमाथि, त्यसपछि ६५ वर्षमाथि गर्दै सबैमा त्यो खोप पु¥याउने तयारी छ।

ती सबै मुलुकमा पहिलो चरणमा जेष्ठ नागरिक, विरामी र स्वास्थ्यकर्मीलाई खोप दिने र अन्यलाई विस्तारै दिँदै जाने भनिएको छ। प्राथमिकता तय गरेर त्यसैका आधारमा स्वदेशी र विदेशी नभनिकन खोप दिइरहेको खाडी क्षेत्रका राजदूतहरूले इकागजलाई बताए।

साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र पी. सिंह, कतारका नारदनाथ भारद्वाज, कुवेतका दुर्गाप्रसाद भण्डारी, ओमनका शर्मिला पराजुली ढकालले खोपको प्रक्रिया तिव्र रहेको बताए। कतारका राजदूत भारद्वाज स्वयंले खोप लगाईसकेका छन्। साउदीका सिंहले पनि खोप लगाउने बताइसकेका छन्।

कतिपय नेपालीहरूले छिटो खोप लगाउन आफूले काम गरेको कम्पनीलाई समेत आग्रह गरिरहेका छन्। सबै मुलुकले विभिन्न स्थानमा खोप केन्द्र खोलेर र एप्समार्फत् आवेदन लिएर खोप दिन थालेका छन्। उनीहरू पहिलो, दोस्रो चरण पार गरेर तेस्रो चरणमा खोप दिने काम गरिरहेका छन्। खोप लगाएका नेपालीहरू यहाँ सोध्दैछन, ‘हामीले त खोप लियौं नेपाल सरकारले के गर्दैछन् हाम्रा परिवारको लागि खोप लगाउन?’

प्रतिक्रया दिनुहोस्