विप्लव समूहका बास्तोलालाई एक साता हिरासतमा राख्न अनुमति

काठमाडौं। विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’विरुद्ध अनुसन्धानका लागि प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ। जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो।

महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ।

प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ। त्यसवेलाको मुद्दामा उनी प्रतिवादी बनाइएका थिए।

थेचोमा ९ चैत ०७७ मा भएको विष्फोटनमा पनि उनी प्रतिवादी थिए। त्यस्तै, ललितपुरबाट चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रेम दर्नालले समेत बास्तोलाको नाम लिएको प्रहरीको भनाइ छ। त्यसमा पनि बाँस्तोलाविरुद्ध अनुसन्धान जारी रहेको भनिएको छ।

बाँस्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ भने उनीसँगै बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट समातिएका अन्य दुई नेतालाई भने अदालतबाट वारेन्ट जारी भएको अभियुक्तलाई भगाउने प्रयास गरेको अभियोग लगाइएको छ।

बिहीबार प्रहरीले अपरेशन चलाइरहेका वेला कुमाल र रखालले बास्तोलालाई भगाउने प्रयास गरेको एसएसपी बज्राचार्य दाबी गरिन्। त्यसैले मुलुकी अपराध संहितामाको दफा १०२ मा भएको कसुर अनुसार दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको उनले बताइन्।

विप्लव समूहले भने बास्तोलाको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

प्रतिक्रया दिनुहोस्