एम्बुलेन्सले अटोरिक्सालाई ठक्कर दिँदा दुईजनाको मृत्यु

झापा। आज विहान झापाको ताराबारीमा एम्बुलेन्सले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा अटो चालक मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४२ वर्षीय सन्तोष श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ ताराबारीमा मे १ च १२४६ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो रिक्सालाई विहान ९ बजे ठक्कर दिएको थियो। एम्बुलेन्सभन्दा पछाडी रहेको को ११ प ९५२५ नम्बरको मोटरसाइकल र को २५ प १९३३ नम्बरको स्कुटर पनि दुर्घटनापछि सडकमा पल्टिएको अटोमा ठोक्किएका थिए।

अटोमा सवार सुनसरी इनरुवा ७ का २४ वर्षीय सौजन मगर, दमक नगरपालिका ४ झापाका २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक २ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन्। एम्बुलेन्स चालक दमक ४ बस्ने ५१ वर्षीय गणेश दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रया दिनुहोस्