धरौटीमा छुटे मिटरब्याज चलाउने गिरोहका नाइके

विराटनगर। विराटनगरमा मिटरब्याज सञ्चालन गर्दै आएको गिरोहका नाइके एजाज अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ।

संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा पक्राउ परेका अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

विराटनगर महानगरपालिका–९ घर भएका एजाज मिटरब्याजमा लगानी गर्ने र जबरजस्ती रकम असुल गर्ने गिरोहका नाइके हुन्। एक वर्षअघि विराटनगरकै एक ३२ वर्षीय पुरुषलाई १५ लाख रुपैयाँ ऋण लगानी गरेका एजाजको समूहले अपहरण शैलीमा लगेर एक करोड १० लाखको छुट्टाछुट्टै चेक बनाएर छाडेको थियो।

१५ लाख रुपैयाँको सावाँ–ब्याज गरी १७ लाख रुपैयाँ बुझाएका ती पुरुषबाट जबरजस्ती ५० लाख र ६० लाखको चेकमा हस्ताक्षर गर्न लगाई चेक लिएर गएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको थियो।

६ पुसमा एजाजलाई घरबाटै पक्राउ गरेको प्रहरीले उनीसहित चार जनाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरेको थियो।

अनुसन्धानका क्रममा एजाजले गिरोह नै सञ्चालन गरेको खुलेपछि विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। एजाज बाहेक अन्य फरार छन्।

शुक्रबार मुद्दा दर्ता भएपछि आइतबार अदालतमा थुनछेक बहस भएको थियो। बहसपछि जिल्ला न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदेशलगतै पाँच लाख रुपैयाँ धरौटी बुझाएर आरोपी छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार एजाजको गिरोहले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्ने गर्दै आएको थियो । छोटो समयमा उल्लेख्य आर्थिक प्रगती गरेका एजाजको समूहले १५ लाख रुपैयाँ ऋण लिएका पुरुषलाई ऋण चुक्ता भएपछि पुनः ४५ लाख ऋण लिएको तमसुक गराएको थियो। तमसुक देखाएर ६० लाख माग्दै बारम्बार धम्की दिएका थिए।

तर ती पुरुषले रकम दिन इन्कार गर्दै आएका थिए। त्यसपछि गफ गर्न भन्दै बोलाएर मंसिर २५ गते उनलाई सो समूहले अपहरण शैलीमा बा १८ च ८९९५ नम्बरको कारमा लिएर गएको थियो। सोही क्रममा पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाएको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रतिक्रया दिनुहोस्