प्रस्तावित ‘बुटिक एयरपोर्ट’: २० करोड सकियो, काम सकिएन

काठमाडौं। आर्थिक वर्ष २०७५/७६ को बजेटमा भनिएको थियो, ‘त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा परिणत गरिनेछ।’ त्यसको कार्यान्वयन ६ महिनाभित्रै सक्ने लक्ष्य राखेर २०७५ पुसबाटै काम थालिएको थियो। लक्ष्यअनुसार काम भएको भए सोही आर्थिक वर्षभित्र त्रिभुवन विमानस्थल ‘बुटिक विमानस्थल’का रुपमा परिणत भइसक्थ्यो।

बुटिक विमानस्थलका रुपमा के-के गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कामहरु तोकिएका थिए। योजना अनुसार त्रिभुवन विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने काम अझै सकिएको छैन।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्युपछि २०७५ फागुनदेखि २०७६ साउनसम्म ६ महिना पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री ओली समक्ष रहेको थियो। त्यसबेला प्रधानमन्त्रीले निकै प्राथमिकता दिएको ‘बुटिक एयरपोर्ट’ अवधारणा अहिले भने केवल औपचारिकतामा मात्र सीमित छ।

बुटिक एयरपोर्ट के हो, यो कस्तो हुन्छ? यसबारे पर्यटन मन्त्रालयले नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई ७ वटा जिम्मेवारी दिइएको थियो। बगैँचा निर्माण, अन्तराष्ट्रिय टर्मिनल भवनको बाहिरपट्टी सिलिकन पेन्टिङ गर्ने र अन्तर्राष्ट्रिय टर्मीनल तर्फको ‘ब्यागेज क्लेम एरिया’मा कलात्मक मूर्ति राख्ने उल्लेख थियो।

अन्तर्राष्ट्रिय आगमनतर्फ एप्रोन नजिकै बुद्धको धातुको ठूलो मूर्ति राख्ने समेत यसै कार्यक्रमको एक पक्ष थियो। आन्तरिक टर्मिनल भवन अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर पट्टीको भागमा जीर्णोद्धार र मर्मत गर्ने योजना पनि थियो।

अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर ‘क्यानोपी’ निर्माण गरी आकर्षक संरचना बनाउने गरी जिम्मेवारी तोकिएको थियो। प्राधिकरणका अनुसार तोकिएका काममध्ये बगैँचा निर्माण, मूर्ति राख्ने र सिलिकन पेन्टिङको काम पुरा भएको छ।

यसले विगतभन्दा विमानस्थलको स्वरुप केही फरक देखाएको छ। तर यो परिकल्पनाअनुसार भौतिक संरचनामा गर्नुपर्ने सुधारका काम भने अझै पनि जारी रहेको प्राधिकरणका उपमहाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

‘हामीले तोकिएअनुसार काम गरिरहेका छौं’, उनले भने, ‘ठ्याक्कै यही संरचना बन्दा बुटिक एयरपोर्ट बन्छ भन्ने होइन, मौलिकता झल्काउने गरी अनेकन काम भएको छ।’

२९ करोड बजेट, २० करोडभन्दा बढी खर्च

सरकारले बुटिक एयरर्पोटका लागि २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये करिब २० करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणको भनाइ छ। अहिले जारी रहेका काम पुरा हुँदा लागत समेत पुरा हुने लक्ष्य राखिएको छ।

प्राधिकरणको चालु आर्थिक वर्षको चौमासिक प्रगति विवरणअनुसार बुटिक एयरपोर्ट भनी सरकारले दिएका जिम्मेवारीमध्ये अब आन्तरिक टर्मिनलको जीर्णोद्धारको काम १५ प्रतिशत बाँकी छ।

अन्तर्राष्ट्रिय टर्मिनल बाहिरका संरचनामा ४८ प्रतिशत मात्र काम पुरा भएको छ। अझै ५२ प्रतिशत काम गर्नुपर्नेछ। अन्तराष्ट्रिय टर्मिनल भवन बाहिर बनाउने क्यानोपीको निर्माण काम भने मात्र २३ प्रतिशत पुरा भएको छ।

बीचमा कोरोना भाइरसको महामारीले काममा अवरोध हुँदा भौतिक प्रगतिमा ढिलाई भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणको चालु आर्थिक वर्षको वाषिर्क नीति तथा कार्यक्रम अनुसार त्रिभुवन विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणा अनुसार अगाडी बढेका काम चालु आर्थिक वर्षभित्रै सकिने छ।

प्रतिक्रया दिनुहोस्