आठ अर्बको बजेट बनाउँदै निर्वाचनका आयोग

काठमाडौं। आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने सरकारको घोषणासँगै निर्वाचन आयोग त्यसैको तयारीमा जुटेको छ। यसका लागि अहिले कति बजेट लाग्छ भन्नेमा आयोगले तयारी शुरु गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अहिले बजेट निर्माणको तयारीसँगै अर्थमन्त्रालयसँग पनि छलफल अगाडि बढाइएको छ। ‘आयोगको अनुमान ८ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ, यसका लागि अर्थमन्त्रालयको बजेट निर्माण महाशाखासँग छलफल भइरहेको छ । ८ अर्ब रुपैयाँमा केही थपघट हुन सक्छ। एक सातामा बजेट कति लाग्ने भन्ने टुंगिन्छ,’ उनले भने।

उनका अनुसार अहिले अर्थमन्त्रालयसँग बजेट निर्माणका लागि समन्वय भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा बिघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेका थिए।

जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्ने सरकारको सिफारिसलाई पारित गरेकी थिइन् र आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरिएको थियो। अहिले प्रतिनिधिसभा बिघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनको पक्षमा फैसला गरे आगामी बैशाखमा निर्वाचन हुनेछ।

प्रतिक्रया दिनुहोस्