मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिँदै तीन सांसद

काठमाडौं। प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा प्रचण्ड–माधव समूहमा रहेका प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिने बताएका छन्।

उनीसहित मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गर्ने तीन जना सांसद नेकपा ओली खेमामा जानसक्ने सम्भावना रहेको उनै मैनालीले बताए। भने, ‘यसको निर्णय साँझ बस्ने सचिवालय बैठकले गर्नेछ, अहिलेसम्म यही मनशाय छ, हेरौं साँझसम्म के हुन्छ।’ तर उनले अहिले नै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता नलिसकेको बताए।

उनले घुमाउरो शैलीमा भने, ‘यसबारे निर्णय त भइसकेको छैन, बाहिर आएका कुरा यथार्थ हुन पनि सक्छन्, भरे बेलुका पाँच बजेसम्म यसबारे निर्णय हुन्छ।’ यसरी प्रचण्ड–माधव समूह छाडेर मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिने सांसदहरूमा मैनालीसहित जसमाया गजमेर, गोपाल बुढाथोकी रहेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाकै अर्को पक्ष प्रचण्ड–माधव समूहले देशव्यापी रूपमा यसको विरोध गर्दै आइरहेको छ। यही कारण केन्द्र, प्रदेश हुँदै नेकपाको स्थानीयस्तरसम्म पार्टी फुटको सँघारमा छ। ​

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नेकपा प्रदेश १ संसदीय दलले कारबाही गर्ने बताएपछि यसअघि पनि दुई प्रदेशसभा सदस्यले राईविरुद्धको हस्ताक्षर फिर्ता लिएका थिए। प्रदेश १ संसदीय दलले ती हस्ताक्षर गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो।

मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

प्रतिक्रया दिनुहोस्