५८ प्रकारका उद्योगलाई विद्युत डिमाण्ड शुल्कमा छुट

काठमाडौं। सरकारले आज सोमबारदेखि कोभिड-१९ प्रभावित उद्योगहरूलाई विद्युत डिमाण्ड शुल्कमा छुट दिने भएको छ।

कोभिड प्रभावित उत्पादनमूलक उद्योगहरुलाई लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयलाई आजदेखि कार्यान्वयन लैजान लागकोे हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले आजदेखि विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो।

उद्यमी व्यवसायीहरूले कोभिडका बेलामा बन्द रहेका उद्योग व्यवसायीले प्रयोग गरेको विद्युतमा छुट दिनुपर्ने माग राखेका थिए। बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लडडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरु लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागिता रहेको थियो।

प्रतिक्रया दिनुहोस्