तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरो

बुटवल। तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

आज बिहान कुहिरोका कारण रुपन्देहीको भैरहवा र मोरङको विराटनगरमा पारदर्शिता (भिजिबिलिटी) सबैभन्दा कम छ। पौने ९ बजेको रेकर्डअनुसार यी स्थानमा ५० मिटर पारदर्शिता रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी जनकपुरमा १ सय मिटर, सिमरामा २ सय मिटर र नेपालगञ्जमा २ हजार मिटर पारदर्शिता छ। सबैभन्दा बढी पारदर्शिता धनगढीमा ६ हजार मिटर रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार हुस्सु लागेको सिमरामा न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ।

पश्चिम, मध्य र पूर्वी तराईका सबैजसो जिल्लामा लागेको हुस्सु र कुहिरो दिउँसोपछि सुधार हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यद्यपि चिसोपना बढ्न सक्ने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सुझावसमेत दिएका छन्।

महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलाई पश्चिम तराई मानेको छ।

यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई राखिएको छ।

पूर्व तराईमा सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला छन्।

प्रतिक्रया दिनुहोस्