भारत बायोटेकको कोरोना खोपमा शर्तैशर्त

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप विकास गरेको भारतीय कम्पनी भारत बायोटेकले आफ्नो खोपको लागि विभिन्न शर्त जारी गरेको छ।

कम्पनीले आफ्नो कोभ्याक्सिन खोप एलर्जीको समस्या भएका, ज्वरो र अनियमित रक्तस्राव, रगत पातलो बनाउने औषधि खाइरहेका र प्रतिरक्षा क्षमता बढाउने औषधि लिइरहेका मानिसहरुलाई नलिन सुझाव दिएको छ।

भारत बायोटेकले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै गर्भवती र बच्चालाई स्तनपान गराइरहेका महिलालाई पनि कोभ्याक्सिन नलगाउन सुझाव दिएको छ।

साइडइफेक्ट

विज्ञप्तिमा कम्पनीका अनुसार कोभ्याक्सिन गम्भीर एलर्जिक प्रतिक्रियाको कारण पनि बन्न सक्छ। जसको कारण श्वासप्रश्वासमा समस्या, अनुहार तथा घाँटी सुन्निने, मुटुको गति बढ्ने, रिँगटा लाग्ने, कमजोरी हुनेजस्ता समस्या हुन सक्छ।

भारत बायोटेकले कोभ्याक्सिनबारे फ्याक्टसिट जारी गरेको छ। जसमा सम्भावित नकारात्मक असरबारे जानकारी दिइएको छ। कोभ्याक्सिन खोपको अहिले तेस्रो चरणको क्लिनिकल परीक्षण चलिरहेको छ। अहिलेसम्म यो खोप कति प्रभावकारी छ भन्ने जानकारी दिइएको छैन।

भारत बायोटेकले खोप लगाए पनि मानिसहरुलाई कोरोना नियन्त्रणको मापदण्ड पालना गर्न सुझाव दिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले मानिसलाई आफूले चाहेको कोरोना खोप लगाउने अनुमति दिएको छैन। तर, मानिसहरुले खोप लगाउने वा नलगाउने भन्ने निर्णय भने आफैं गर्न सक्छन्।

भारतीय पत्रिका द हिन्दूका अनुसार कोभ्याक्सिन लगाएपछि अहिलेसम्म ४ सय ४७ जना मानिसमा यसको साइडइफेक्ट देखिएको छ। जसमध्ये तीन जनालाई अस्पतालमा भर्ना गरिएको थियो। यस्तोमा कोरोना खोपबारे सचेतना कार्यक्रम फैलाउनु जरुरी रहेको भारत बायोटेकले बताएको छ।

प्रतिक्रया दिनुहोस्