हिमालय एयरलाइन्सले गर्‍यो ल्हासामा परीक्षण उडान

काठमाडौं। नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ। आज बिहान सवा ७ बजे ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ।

ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ। सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ।

बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण गरेको थियो। यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ। काठमाडौंमा स्थानीय समयअनुसार २ बजे अवतरणको योजना बनाइएको छ।

ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९-११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ। यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन्। यो जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमताको हो।

ल्हासास्थित विमानस्थल रहेको स्थान ३,५७० मीटर अर्थात् ११ हजार ७११ फिट उचाइमा छ। कम्पनीका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठका अनुसार ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हिमालय पहिलो र एक मात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बनेको छ।

प्रतिक्रया दिनुहोस्