कोरोनाविरुद्धको खोप ५ लाख जनालाई दिने सरकारको तयारी

काठमाडौं। स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लगत लिने काम शुरू गरेको छ।

सरकारले ५ दिनअघि कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपालमा आपतकालीनरूपमा प्रयोग गर्ने निर्णय गरेको थियो। आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने औषधि व्यवस्था विभागले प्रेस वक्तव्य मार्फत सार्वजनिक गरिसकेको छ।

आजै मात्र भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपाल सहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। त्यो खोप एक साताभित्रै आपूर्तिको व्यवस्था मिलाइने छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताए। उनले भने, ‘हामी अहिले धमाधम त्यस्ता कर्मचारीको विवरण संकलन गरिरहेका छौं। नेपालमा खोप भित्र्याएको एकसाताभित्र लगाउन शुरू गर्छौं।’

गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा भ्याक्सिन लगाउन मन्त्रालयले तयारी गरिरहेको छ। सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगी लगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए।

भ्याक्सिन भण्डारणको पूर्वतयारी तीब्र

मन्त्रालयले भ्याक्सिन भण्डारण गर्न करिब ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण कार्य भइरहेको मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोगको तयारी गरिएको छ।

कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको थियो। ती मापदण्डमा खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको थियो।

प्रतिक्रया दिनुहोस्