प्रधानमन्त्री कपः गण्डकी विरुद्ध कर्णालीको सहज जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सहज जित निकालेको छ। मंगलबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले हराएको हो।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। कर्णालीका लागि हिमान्सु शाहीले अर्धशतकीय पारी खेले। ६० बल खेलेका उनले ७ चौकाको सहयोगमा ६८ रन बनाए। त्यस्तै, विपीन रावलले ४९ रन जोड्दा राज शाह ३२ र हेमन्त ओलीले २९ रनको योगदान गरे।

बलिङतर्फ गण्डकीका लागि विपीन खत्रीले सर्वाधिक ४ विकेट लिए। उनले यसअघिको खेलमा पनि ह्याट्रिकसहित ४ विकेट लिएका थिए। त्यस्तै, सुवास भण्डारीले एक विकेट झारे। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनाएको थियो।

गण्डकीका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले। ६४ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए। त्यस्तै, अर्जुन कुमालले ४६ रन बनाउँदा विपीन खत्रीले ३२ रनको योगदान गरे। जितसँगै कर्णालीको दुई खेलबाट २ अंक भएको छ। पराजित गण्डकीको तीन खेलबाट २ अंक छ।

प्रतिक्रया दिनुहोस्