१३ अर्ब नाफामा आयल निगम, कर्मचारीलाई ६ करोड बोनस बाँड्दै

काठमाण्डौं। आर्थिक वर्ष २०७६/०७७ मा झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल आयल निगमले कर्मचारीलाई ६ करोड रुपैयाँ बोनस बाँड्ने तयारी गरेको छ।

गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार निगमले १२ अर्ब ८७ करोड नाफा कमाएको थियो। नाफा कमाएको आर्थिक वर्षमा कर्मचारीलाई बोनस दिने प्रावधानअनुसार कर्मचारीलाई बोनस बाँड्न निगमले अर्थ मन्त्रालयको स्वीकृति मागेको छ।

गएको आर्थिक वर्षको नाफा मध्येबाट झण्डै ६ करोड रुपैयाँ बोनस बाँड्ने प्रस्ताव निगमले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको एक कर्मचारीले जानकारी दिएका छन्। पुसको दोस्रो हप्ता भएको सञ्चालक समितिको बैठकले बोनस वितरण गर्न अर्थ मन्त्रालयसँग स्वीकृति माग्ने निर्णय गरेको थियो।

कर्मचारीको जिम्मेवारी हेरेर दुई महिना १५ दिन सम्मको तलब बराबरको रकम बोनस दिने तयारी भएको निगम स्रोतले जनाएको छ। निगमले स्वचालित मूल्य प्रणाली अपनाउँदै आएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढाउँदा नेपालमा पनि बढाउने र अन्तर्राष्ट्रिय बजारमा घट्दा यहाँ पनि घटाउँदै आएको निगमको दाबी छ।

उपभोक्ताले भने सहुलियत दिनुको साटो वार्षिक १३ अर्ब रुपैयाँ नाफा कमाएर कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमको आलोचना गर्दै आएका छन्।

प्रतिक्रया दिनुहोस्