कोरोना खोप काठमाडौं आईपुग्यो, एक हप्ताभित्र लगाइसक्ने गरी तयारी

काठमाडौं। भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

आज विहान ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमान १० लाख डोज खोपको पहिलो लट लिएर काठमाडौं आएको हो। विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप हस्तान्तरण गरेका छन्।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने मन्त्रालयले जनाएको छ। भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप लगाइनेछ । मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ।

प्रतिक्रया दिनुहोस्