अपाङ्गता भएका बालबालिकाका लागि अध्ययन केन्द्र स्थापना गरिंदै

रौतहट। रौतहटको परोहा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि अपाङ्गता अध्ययन केन्द्र स्थापना गरिने भएको छ। त्यसका लागि परोहा नगरपालिका-६ बसन्तपटी भेड़ियाही टोलमा केन्द्रको भवन निर्माण हुँदैछ।

अपाङ्गता भएका व्यक्तिको हकहित तथा सशक्तिकरणमा काम गर्दै आएको गैर सहकारी संस्था छाया नेपाल र परोहा नगरपालिका भवन बनाउन लागि परेका छन्। परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले भवनको शिलान्यास गरिसकेका छन्।

भवन निर्माणमा ५७ लाख लाग्ने अनुमान गरिएको छ। भवनका लागि छाया नेपालले २८ लाख ५० हजारमा ३ कट्ठा जमिन खरिद गरेको थियो। अपाङ्गता भएका बालबालिकालाई बस्ने, खाने र उनीहरुले बुझ्ने ढंगले अध्ययन गर्ने व्यवस्था अध्ययन केन्द्रमा गर्ने योजना छ।

केन्द्रको भवन बनेपछि अपाङ्गता भएका बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न पाउने नगर प्रमुख वकिलले बताए।

‘जग्गा संस्थाले खरिद गरेको हो, भवन निर्माण, बिजुली, खानेपानीका लागि सहकार्य गर्ने कुरा भएको छ’, नगर प्रमुख वकिलले भने, ‘पहिले नगरपालिकामा अपाङ्गता भएका बालबालिका छनोट गर्छौं, तत्काल त नगरपालिका भित्रका बालबालिकालाई समेट्ने योजना छ, अन्यत्रबाट कस्तो प्रतिक्रिया र साथ सहयोग आउँछ हेरौं। जिल्ला भरीका बालबालिकालाई समेटेर लैजान पनि सकिन्छ।’

शिक्षामा सबैको समान पहुँच पुर्‍याउनका लागि अध्ययन केन्द्र स्थापनामा जुटेको उनले बताए।

प्रतिक्रया दिनुहोस्