औषधि बनाउँदै पढ्दै जनता विद्यापीठका विद्यार्थी

दाङ। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको दाङको तुलसीपुर १८ बिजौरीस्थित जनता विद्यापीठका विद्यार्थीले औषधि बनाएका छन्। आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तह (एएचए) अध्ययनरत दोस्रो वर्षका विद्यार्थीले प्रयोगात्मक अभ्यासका रूपमा औषधि उत्पादन गरेका हुन्।

यसरी प्रयोगात्मक रुपमा औषधि बनाउन पाउँदा आफूहरु धेरै खुसी भएको विद्यार्थी आश्मा बुढाथोकीले बताइन्। उनले स्थानीय ठाउँमा भएको जडीबुटीहरु प्रयोग गरेर बनाएको र यस औषधिले श्वास प्रश्वास, रक्तपित्तलगायत रोगका बिरामीले प्रयोग गर्न मिल्नेसमेत उनले बताइन्।

‘हामीले पढाई मात्र नभइ औषधि बनाउने प्रयोगात्मक अभ्यास गर्‍यौं। जसले गर्दा हामीले धेरै फाइदा भएको छ। अब हामी आफ्ना घरको लागि पनि थोरै लगानीमा यो औषधि बनाउन सक्छौं।’ उनले भनिन्। त्यस्तै, अर्का विद्यार्थी धन बहादुर केसीले यो औषधि हाम्रै वरपर खेर गइरहेको असुरो नामक जडिबुटीबाट बनाएको बताए।

यो आयुर्वेदको अत्यवश्यक औषधि भित्र पर्ने समेत उनको भनाइ छ। असुरो संकलन गरी २४ घण्टामा पानीमा भिजाएर, ८ घण्टा पानीमा पकाएर त्यसमा चिनी, पिपला, घ्यु र मह राखेर बनाउन सकिने समेत उनले बताए। यो औषधि आधा दर्जन भन्दा बढी रोग लागेका बिरामीहरुले प्रयोग गर्न सक्ने केसीले बताए। आफूहरुले बनाएको यस्ता औषधिको बजारीकरणको व्यवस्था भए थप हौसला लाग्ने समेत उनको भनाइ छ।

आयुर्वेद अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त प्रयोगात्मक सीप दिने उद्देश्य अनुसार यस्तो सफलता मिलेको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए। विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयास भइरहेको समेत उनले जानकारी दिए।

‘बाहिरबाट आएको औषधिले हामीलाई काम गर्दैन’, उनले भने, ‘हाम्रै वरपर पाइने जडिबुटी नै हाम्रो औषधि हो। यहाँ त उल्टो भएको छ। यहाँबाट संकलन गरेर बाहिर जान्छ। तर, हामी कहाँ वास्तविक मात्र नहाली त्यो औषधि आउँछ।’ उनले आयुर्वेदले पैसा पनि दिने, कसैको उपचार गर्दा मित्रता पनि बढ्ने, सम्मान र धर्म पनि दिने भएकाले सबै यसप्रति जागरुक हुनुपर्ने समेत उनको भनाई छ।

यो औषधि स्वास्थ्यका लागि फाइदाजनक रहेकाले दम, रक्तपित्त तथा रुघाखोकीका लागि उपयोगी हुने डा. मनोज अधिकारीले बताए। उनका अनुसार स्थानीय जडीबुटी असुरो, मह, घ्यू, चिनी र पिपला लगायतको मिश्रणबाट तयार पारिएको छ। हेर्दा औषधि थोरै देखिए पनि धेरै जडीबुटीको मिश्रण गरिएकाले उत्पादनमा धेरै समय लागेको उनको भनाइ छ।

आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म यो औषधि प्रयोग गर्न सकिने उनको दाबी छ। आयुर्वेदको कक्षा सञ्चालन भएदेखि नै विद्यार्थीले च्यवनप्रास उत्पादन गरेका छन्। विद्यार्थीले व्यक्तिगत लगानी गरेर च्यवनप्रास बनाएका थिए।

औषधि निर्माण विशेषज्ञ तथा केन्द्रीय आयुर्वेद बेलझुण्डीका प्रा.डा. सुनील कुमारले पढाइ अनुसारको अभ्यास गराउने र त्यहीबाट औषधि उत्पादन गरिरहेको बताए। उनले अघिल्लो ब्याजका विद्यार्थीहरुले च्यवनप्रास बनाएको समेत बताए।

‘अहिलेको ब्याजका विद्यार्थीहरुले पनि च्यावनप्रास बनाउने भन्ने कुरा उठेको थियो’, उनले भने, ‘तर, यस बर्ष कोरोना महामारीका कारण भारतबाट कच्चा पदार्थ ल्याउन समस्या भएकाले वासावलेह औषधि बनाएका हौं। यो औषधि बनाउन धेरै समय लाग्छ। च्यवनप्रास बनाउन ५/७ घण्टामा तयार हुन्छ।’ अहिले विद्यार्थीहरुले आफ्नै लगानीमा औषधि बनाउँदै आएको समेत उनले जाकारी दिए।

प्रतिक्रया दिनुहोस्